गठबन्धनलाई निरन्तरता दिने मुडमा कांग्रेस - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

गठबन्धनलाई निरन्तरता दिने मुडमा कांग्रेस


काठमाडौं । नेपाली कांग्रेस यतिबेला आसन्त प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा केन्द्रीत छ । स्थानीय चुनावमा भएको तालमेलको समीक्षा गर्दै कांग्रेसले आगामी निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने विषयमा बहसलाई केन्द्रीत गरेको छ ।

तर कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले आगामी निर्वाचनमा पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिन सुझाव दिएका छन् । सोमबारदेखि पार्टी कार्यालय सानेपामा सुरु केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले स्थानीय तह निर्वाचन समग्रमा गठबन्धन सफल भएको भन्दै आगामी संघ र प्रदेशको निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिन नेतृत्वलाई सुझाव दिएका हुन् ।

बैठकपछि प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले अधिकांश सदस्यले गठबन्धन सफल भएको र निर्वाचनमा भएका कमी कमजोरीबाट पाठ सिकेर आगामी निर्वाचनमा पनि गठबन्धनलाई निरन्ता दिनुपर्ने धारणा राखेको जानकारी दिए । प्रवक्ता महतले बैठकमा पार्टीको समग्र संरचनालाई पूर्णता दिएर चलायमान बनाउने विषयमा पनि छलफल भएको र पार्टीको निश्चित फोरमबाहिर नजान नेताहरुलाई सचेत गराइएको जानकारी दिए ।

बैठकमा कांग्रेसका प्रदेश सभापतिहरूले पार्टीभित्र मर्यादाक्रमको विषयलाई लिएर आपत्ति जनाएका छन् । मर्यादाक्रममा तीव्र असन्तुष्टि जनाएका सातै प्रदेशका सभापतिहरू छुट्टै बसेर लिखित असन्तुष्टि तयार पारी केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका थिए ।

मंगलबारको बैठकमा मर्यादाक्रम सम्बन्धी प्रस्ताव प्रस्तुत भएपछि प्रदेश सभापतिले आफूहरूको मर्यादाक्रम घटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माका अनुसार प्रदेश सभापतिको मर्यादाक्रम ११ नम्बरमा पु¥याइएको छ । केन्द्रीय सभापतिपछि आफूहरूको मर्यादाक्रम राखिनुपर्ने उनीहरूको माग छ ।

केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा ५ बुँदे धारणा राखेका छन् । वर्तमान पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिनुपर्ने पक्षमा रहेका पौडेलले केन्द्रीय समितिको बैठकमा पनि आगामी निर्वाचनमा गठबन्धन बनाएर जाँदा नै पार्टीले बढी सिट सुरक्षित गर्न सक्नेसहितका ५ बुँदे धारणा राखेका थिए ।

उनले मुलुकको अर्थतन्त्र बिग्रिएको भन्दै यसका लागि विज्ञहरूसँग परामर्श गरेर सकारात्मक पहलकदमी लिन पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । बैठकमा मंगलबारसम्म ४८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठक बुधबार दिउँसो २ बजे पुनः बस्नेछ । तर देउवा गामी निर्वाचनमा मात्रै होइन, निर्वाचनपछि पनि गठबन्धनलाई निरन्तरता दिने तयारीमा देखिन्छन् ।