उपसभामुखको जिम्मेवारी पुष्पा भुषालको काँधमा - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

उपसभामुखको जिम्मेवारी पुष्पा भुषालको काँधमा


काठमाडौं । प्रतिस्पर्धी नेकपा एमालेकी विद्या भट्टराईलाई पाखा लगाउँदै नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल गौतम उपसभामुख बनेकी छिन् । प्रतिनिधि सभाको बैठकमा शुक्रबार भएको मतदानमा पुष्पा १४८ मतसहित विजयी हुँदै उपसभामुख बनेकी हुन् । उनकी प्रतिस्पर्धी भट्टराईले ९३ मत ल्याइन् । मतदानमा २४२ जनाले भाग लिएका थिए ।

पुष्पा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी थिइन् । विद्या एमालेका तर्फबाट उम्मेदवार थिइन् । पुष्पालाई पाँच दलीय गठबन्धनसँगै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको पनि समर्थन रहेको थियो । विद्यालाई भने एक मत रहेको राप्रपाले समर्थन गरेको थियो । संसदको अर्को दल नेपाल मजदुर किसान पार्टी नेमकिपा भने तटस्थ बसेको थियो ।

यता, सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)की सांसद एवम् पूर्वसभामुख ओनसरी घर्तीले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्था अनुसारनै भएको टिप्पणी गरिन । शुक्रबार उपसभामुखमा कांग्रेस सांसद पुष्पा भुसाल निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा यस्तो भनाइ राखेकी हुन ।

प्रमुख प्रतिपक्ष दल एमालेले संविधानले सत्ता पक्षले सभामुख पाएपछि उपसभामुख प्रतिपक्षले पाउनुपर्ने व्यवस्था गरेको जिकीर गरिरहेको बेला घर्तीले भने संविधानमा फरक लिङ्ग र फरक दल भनेको र सोही अनुसार उपसभामुखमा भुसाल निर्वाचित हुनुभएको बताइन ।