प्रचण्डको भारत भ्रमणको अर्थ - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

प्रचण्डको भारत भ्रमणको अर्थ


काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख लिउ चियानछाओ नेपाल भ्रमण सकेर फर्केलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।

भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले स्वागत गरेका थिए उनीसँग होटल ताज मानसिंहमा शिष्टाचार भेट भएको छ । त्यस्तै उनले नेपाली राजदूतावासमा नेपाली संघ संस्थाका प्रतिनिधिहरूसंग भेटघाट गर्ने र नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

त्यस्तै शनिबार भने प्रचण्ड राजनीतिक भेटवार्तामा व्यस्त हुने छन् । भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै विदेश सचिव विनय मोहन क्वात्रासँग पनि उनको भेटवार्ता हुने छ । त्यस्तै प्रचण्ड फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारत सम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन् । भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाटको कार्यक्रम रहेको जनाइएको छ ।

त्यस्तै आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भ्रमणको कार्यक्रम रहेको छ । त्यस्तै आइतबार नै प्रचण्ड भाजपा मुख्यालय भ्रमणमा पुगेका छन् । त्यसक्रममा उनले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गर्न छन् भने भाजपा अध्यक्षद्वारा आयोजित दिवाभोजमा सहभागी हुने छन् ।

यता, लिउले नेपालमा रहँदा भ्रमणको पहिलो दिन आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्का तथा भ्रमणको अन्तिम दिन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाल मजदुर किसान पार्टी नेमकिपाका अध्यक्ष नारायणमान विजुक्क्षेसँग भेटवार्ता गरेका थिए ।

यसबाहेक उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सोमबार, एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग मंगलबार भेटवार्ता गरे । चिनियाँ अधिकारीको नेपाल भ्रमण र प्रचण्डको भारत भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने इच्छा राखेका प्रचण्डले भारत भ्रमण गर्नुलाई राजनीतिक बृत्तमा निकै चासोका साथ हेरिएको छ ।

तर प्रचण्डले लिउले नेपाल आउने कुरा र आफ्नो भारत भ्रमणबीच कुनै सम्बन्ध नरहेको प्रस्ट पारेका छन् ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हु्न । उनले आफ्नो भ्रमण राजनीतिक भ्रमणका रुपमा रहेको भन्दै सद्भावना भ्रमणका रुपमा लिनुपर्ने बताए । भारत भ्रमणका क्रममा आफुले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर कुराकानी हुने पनि बताए ।

"