नयाँ मोडमा डा.बाबुराम - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

नयाँ मोडमा डा.बाबुराम


काठमाडौं । जनता समाजवादी पार्टी जसपा छाडेका डा.बाबुराम भट्टराईले नयाँ पार्टी खोलेका छन् । पार्टीको नाम नेपाल समाजवादी पार्टी रहने भएको छ । भट्टराई निकट एक नेताका अनुसार निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो ।

अद्यावधिक भएको पार्टी नै अब भट्टराईको नेतृत्वमा रहने बताइएको छ । केही दिनमै केन्द्रीय समिति पुनर्गठन गरी बाबुरामको नेतृत्वमा ल्याउने बताइएको छ । हाल नेपाल समाजवादी पार्टीको अध्यक्षमा दीपक लामिछाने रहेका छन् । यसअघि लामो समय नेकपा माओवादी केन्द्रमा रहेका बाबुरामले पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्ध विच्छेद गरेर नयाँ शक्ति पार्टी गठन गरेका थिए ।

त्यसपछि उनले उपेन्द्र यादवसँग मिलेर जनता समाजवादी पार्टी जसपा गठन गरेका थिए । पार्टी अध्यक्ष उपेन्द्र थिए भने बाबुराम संघीय परिषदका अध्यक्ष भएका थिए । पछिल्लो समय सम्बन्ध चिसिएसँगै बाबुरामले पार्टी छाडेका हुन् । संघीय चुनाव आउँदै गर्दा उपेन्द्रले एमालेको फेरो समात्न खोजिरहेका बेला भट्टराई नयाँ मोडमा पुगेका हुन् ।

भारतमा रहँदा नेपाल विद्यार्थी एसोसिएसन तथा अखित भारत नेपाली विद्यार्थी संघमार्फत पूर्णकालिन राजनीतिक यात्रा थालेका डा.भट्टराई भारत भ्रमणमा गएका तत्कालीन राजा वीरेन्द्रलाई कालो झन्डा देखाएपछि ०३६ सालमा उनी नयाँ दिल्लीमा प्रहरीद्वारा गिरफ्तार पनि भए। त्यसपछि उनी चर्चामा आउन थालेका हुन । तर उनी कुनै पनि पार्टीमा लामो समय टिक्न सकेका छैनन ।

२०३७ सालमा मोहनविक्रम सिंहबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनले नेकपा चौथो महाधिवेशनको नेतृत्व मात्र गरेनन नेपाल फर्केपछि मसालको जिल्ला सेक्रेटरी र बागमती ब्युरो सदस्यको जिम्मेवारी पनि सम्हालेका थिए । ०४६ सालको आन्दोलनमा पनि सक्रिय उनले कुनै समय ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ नामको मोर्चा पनि बनाएर काम गरेका थिए । नेकपा मसाल हुँदै ‘विद्रोही मसाल’ समेत निर्माण गर्न भ्याएका उनले ०५२ फागुन १ गतेदेखि जनयुद्धमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । शान्ति प्रक्रिया पछि खल्ला राजनीतिमा आएपछि ०६८ सालमा प्रधानमन्त्री बनेका डा. भट्टराईको राजनीतिक यात्रा त्यति सन्तोसजनक देखिएको छैन ।

संविधान बनेकै केही दिनमा माओवादी परित्याग गरेका उनले ०७२ असोज ९ गते आफ्नो जीवनको महत्त्वपूर्ण समय र उर्जा दिएको पार्टीलाई सँधैका लागि परित्याग गरेका थिए । त्यसयता उनी कुनै पनि दलमा स्थायी रुपमा उभिन सकेका छैनन् ।