नागरिकता विधेयकः कसलाई फाइदा ? - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

नागरिकता विधेयकः कसलाई फाइदा ?


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नागरिकता विधेयक प्रमाणित गरेका छन् । संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका हुन् ।

प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो । त्यसैगरी राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ गत साउन १२ गते पारित गरेको थियो ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको विधेयक राष्ट्रियसभाले बहुमतसहित पारित गरेको थियो । सभामुखले प्रमाणित गरेपछि अब यो विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको छ ।

राष्ट्रपतिको कार्यालयले प्रमाणिकरण गरेर जारी गरेपछि राजपत्रमा प्रकाशित हुनेछ । त्यसपछि नयाँ प्रावधान अनुसार विदेशबाट बिहे गरेर आएका महिलाले तत्कालै नागरिकता पाउनेछन् । त्यस्तै गैरआवासीय नेपालीले पनि दोहोरो नागरिकता पाउनेछन् ।

विधेयक पारित भएसँगै अब नेपालमा जन्मसिद्धका सन्तानले नागरिकता पाउने प्रष्ट छ । विधेयकले जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोलेको छ ।

२०४६ सालको चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मको आधारमा नागरिकता दिइएको थियो । नेपालमा झन्डै १ लाख ७० हजार जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन् ।

जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था अहिलेको संविधानमा छ । तर कानुन नभएकाले जन्मसिद्धका सन्तानले नागरिकता पाएका छैनन् । लामो समयसम्म नागरिकतासम्बन्धी कानुन संसदबाट पारित नहुँदा उनीहरूको दैनिक जनजीवन समेत प्रभावित भएको थियो ।

यस्तै, अब आमाको नामबाट मात्र पनि नागरिकता पाइने छ । यद्यपि यसरी नागरिकता पाउन चार वटा शर्त भने विधेयकले राखेको छ । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान नभएको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउने छ ।

नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ ले नै कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक भएको अवस्थामा वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको थियो । तर यो व्यवस्था सरकारले कार्यान्वयन गरेको थिएन ।

यसपालिको संविधानले भने आमाको नामबाट मात्र नागरिकता पाउन बावुको पहिचान नभएको हुनुपर्ने व्यवस्था गरेको हो । उक्त व्यवस्था कार्यान्वयन गर्न यो विधेयकले बावुको पहिचान हुन नसकेको घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तो स्वघोषणा गरी वंशजको नागरिकता लिएका व्यक्तिको बाबु विदेशी ठहरिएमा भने उक्त नागरिकता खोसिनेछ । त्यस्तो व्यक्तिलाई सरकारले वंशजको साटो अंगीकृत नागरिकता दिनेछ ।

किनभने नेपाली महिला नागरिकले विदेशी पतिबाट जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था संविधानले गरेको छ । विधेयकले पनि संविधानको यो व्यवस्था कार्यान्वयन गर्ने व्यवस्था गरेको हो । विदेशी पतिबाट नेपाली आमाले जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउन पनि नेपालमै बसोबास गर्नुपर्ने र बावुको देशको नागरिकता नलिएको हुनुपर्ने छ ।

विदेशी नागरिक र नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नागरिकता प्राप्त गर्दा उसको बुवा र आमा दुबैले नेपाली नागरिकता लिएको अवस्थामा भने वंशजको आधारमा नागरिकता दिने व्यवस्था छ ।

यस्तै, विधेयकले पहिलोपटक गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ । गैर आवसीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुल आचार्यले विधेयक पारित हुनुलाई आफ्नो कार्याकालको ऐतिहासिक उपलब्धी ठानेका छन् । विदेशमा रहेका कुनै पनि नेपालीका बावु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर, सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।