एमालेलाई अब कम्युनिष्ट पार्टी भन्न नसकिने - रुपान्तरण
 २०८१ बैशाख ५, बुधबार    

एमालेलाई अब कम्युनिष्ट पार्टी भन्न नसकिने


काठमाडौं । पार्टी मिलाउन भन्दै राष्ट्रिय एकता अभियान चलाइरहेको नेकपा एमालेका नेता बामदेव गौतमलाई पनि अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेपछि आक्रोशित बनेका छन् । ओलीको एकल निर्णयबाट अन्य नेतासँगै बर्खास्तमा परेका गौतमले ओलीको कार्यशैलीले अराजकताको पराकाष्ठा नाघेको बताएका छन् ।

ओलीले एकलौटी ढंगबाट पद खोसुवा गरेपछि गौतमले ओलीको कदमलाई फासीवादी चरित्र भनेका छन् । ‘यो पार्टी संचालनमा फासीवादी चरित्र हो । अराजकताको पराकाष्ठा नाघ्यो’,गौतमले भने ‘ओलीको निर्णयले कम्युनिष्ट भन्न पनि लाज लाग्ने स्थिति बन्यो ।

ओलीले शुक्रबार एकलौटी निर्णय गर्दै आफ्नो गुटका महासचिव ईश्वर पोखरेलबाहेक सबै पदाधिकारी हटाएपछि नेकपाभित्र भाँडभैलो शुरु भएको छ । गौतमले ओलीकै कारण एमालेलाई अब कम्युनिष्ट पार्टी भन्न नसकिने स्थिति बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षको एमालेको केन्द्रीय कमिटी बैठकले माओवादी छोडेका नेताहरूलाई एमालेमा समाहित गर्ने तथा जिम्मेवारी दिने निर्णयका साथै नेपाल पक्षमा रहेका निर्वाचित पदाधिकारीको जिम्मेवारी खोस्ने निर्णय गरेसँगै पार्टीभित्रको कलह झनै चर्किएको छ ।

गौतमले ओलीको कदमलाई कम्युनिस्ट पार्टीको नीति, विचार, सिद्धान्तबाट च्युत भएको भनेका छन् । उनले ओलीले प्रधानमन्त्रीको शक्ति पदको चरम दुरुपयोग गर्ने योजना बनाएको पनि बताए ।