चुनावी अभियानमा कांग्रेस - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

चुनावी अभियानमा कांग्रेस


काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आसन्न निर्वाचनको आन्तरिक तयारी थालेको छ । सोमबार शीर्ष नेताहरुबीच भएको चार घन्टा लामो बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय गरेको छ ।

कांग्रेसले २ गतेदेखि २४ भदौसम्म केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनपछि ७७ वटै जिल्लामा कांग्रेसको पोजिसन र संगठनबारे केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई रिपोर्ट पेस गर्नेछन् ।

कांग्रेसले ३० र ३१ साउनमा प्रशिक्षण कार्यक्रम राखेको छ । जसका लागि पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखलाई काठमाडौं बोलाइने भएको छ । पदाधिकारी, पूर्वपदाधिकारी, वरिष्ठ नेताहरू सम्मिलित सोमबारको बैठकमा सिट बाँडफाँडबारे पनि छलफल भएको थियो । नेताहरूले कम्तीमा सुविधाजनक बहुमत आउने गरी सिट बाँडफाँड गर्नुपर्ने धारणा राखेका थिए ।

मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिटको संवैधानिक व्यवस्था छ । च्च स्रोतका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले ८५ देखि ९० सिटमा दाबी गरेको छ ।