नेपाली चिया निर्यात रोक्न भारतको तयारी - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

नेपाली चिया निर्यात रोक्न भारतको तयारी


काठमाडौं । नेपाली चिया निर्यातमा पुनः समस्या देखिएको छ । निर्यातमा समस्या देखिएपछि व्यवसायीहरु प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्न काठमाडौं आइपुगेका छ्न । गत १५ जुन २०२२ मा भारतको संसदीय वाणिज्य स्थायी समितिले नेपालबाट आउने चियाको प्रमाणीकरणका लागि भारत सरकारले शुल्कबाहेक कडा मापदण्ड लागू गर्न सिफारिस गरेपछि पुनः चिया निर्यातमा समस्या देखिएको हो ।

नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेकोबारे जानकारी गराउन बालुवाटार पुगेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल र इलामका चिया उद्योगीहरुले समस्या सम्बोधन गर्न माग पनि गरेका छन् । नेपाली चिया आयातमा भारतले रोक लगाए साढे तीन अर्ब रुपैयाँको व्यापार गुम्ने जोखिम बढेको छ।

भारतको लोकसभा र राज्य सभामा पेश गरिएको नेपाली चिया सम्बन्धी प्रतिवेदन नेपालको चिया ‘जिओग्राफिकल इन्डिकेसन’ (जीआई) मा दर्ता नरहेको बताउँदै नेपाली चिया रोक्न भारतले तयारी गरिरहेको जानकारी गराउन उद्योगीहरु देउवा निवास पुगेका थिए ।

जीआईमा समेत दर्ता नभएको चिया मिसाएर भारतीय चिया निर्यात गर्दा समग्र देशको गुणस्तर खस्किएको उनीहरूको दाबी छ। प्रतिवेदनमा लेखिएको छ, ‘छिमेकी मुलुक विशेषगरी नेपालबाट गुणस्तरहीन चिया बढेको छ। भारतको चिया उद्योगलाई खतरामा पार्ने देखिन्छ। नेपालबाट कम गुणस्तरको चिया आयात गरी बिक्री भइरहेको छ। प्रिमियम दार्जिलिङ चियाको रूपमा पुनः निकासी गरिएको छ, जसले भारतको विश्वव्यापी ब्रान्ड छवि र घरेलु चियाको मूल्यलाई पनि असर गरिरहेको छ। चिया उद्योग पश्चिमको दार्जीलिङ जिल्लाको अर्थतन्त्रको मेरुदण्ड हो। बंगाल र दार्जीलिङ चियाको दोहोरोपनको वृद्धिले चिया उत्पादन र यस क्षेत्रका साना चिया उत्पादकको जीविकोपार्जनमा असर पारेको छ। यसबाहेक नक्कली दार्जीलिङ चियाले नेपालको दृष्टिकोणलाई कमजोर बनाउँछ। त्यसैले समितिले विभागलाई बलियो बनाउन छिमेकी देशहरूबाट विशेष गरी नेपालबाट कम गुणस्तर र सस्तो चियाको आयातलाई रोक्न सतर्क उपाय सिफारिस गर्छ।’

दुई वर्षअघि नै भारतीय टी बोर्डले नेपालबाट ठूलो मात्रामा गुणस्तरहीन चिया भारततर्फ निर्यात भइरहेकाले ‘अन्धाधुन्ध चियाको आयात र नेपालबाट अवैध निकासी’ रोक्नका लागि नियमहरू लागू गर्न भन्दै केन्द्रीय वाणिज्य मन्त्रालयलाई पत्राचार गरेको थियो। बोर्डले नेपालको सीमावर्ती क्षेत्रबाट निर्यात भएको गुणस्तरहीन हरियो पत्तीलाई प्रशोधन गरेर दार्जीलिङ टी को नामबाट विश्व बजारमा विक्री गरेपछि विश्वसनीयता गुम्दै गएको समेत आरोप लगाउँदै आएको छ।

यसअघि पनि भारतले नेपाली चिया निर्यातमा विभिन्न समस्याहरु देखाउँदै आएको छ । कहिले गुणस्तरीयतामा प्रश्न त कहिले चियाका उच्च मात्रामा पेस्टिसाइड भेटिएको भन्दै सीमा नाकाबाट फर्काउँदै आएको छ। भारतले गत वर्ष मात्रै नेपाल र केन्याबाट सस्तो चिया आयात भएको भन्दै चिया बन्द गरेको थियो। बोर्डले चिया आयातकर्ताले देशमा सस्तो चिया पैठारी गरेको पाइए आयात लाइसेन्स खारेज गर्ने धम्की दिएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशन गरेका थिए।

आयातकर्ताले पालना गर्नुपर्ने केही नियम र बन्देज समेत लगाएको छ। लकडाउनअघि नै दार्जीलिङकी पश्चिम बंगाल राज्यसभा सांसद शान्ता क्षेत्रीले नेपाली चिया गुणस्तरहीन र स्वास्थ्यका दृष्टिले अखाद्य भएको भन्दै तत्काल आयात रोक्न संसद्‌मा माग गरेकी थिइन्। त्यसअघि दार्जीलिङ टी एसोसिएशनले तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी दार्जीलिङ भ्रमणमा आएका वेला ज्ञापनपत्र मार्फत नेपाली चियाको आयात रोक्न आग्रह गरेको थियो।

भारतको संसदीय समितिले छिमेकी देशहरूबाट कम गुणस्तरका उत्पादन भित्रिनाले भारतीय चिया उद्योगलाई खतरामा पारेको कुरा औंल्याउँदै ४० देखि १ सय प्रतिशतसम्म एन्टी–डम्पिङ शुल्क लगाउन आग्रह गरेको छ। समितिले सन् १९५० को नेपाल–भारत व्यपार सन्धि समेत पुनरावलोकन गर्नुपर्ने माग राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नेपाली चियाको प्रमुख आयातकर्ता देश भारत हो। भारतले वार्षिक रूपमा आयात गर्ने ३ करोड केजी सिटीसी चियामध्ये १ करोड ५० लाख केजी नेपालबाट निर्यात हुन्छ। अर्थोडक्स चिया निर्यातको ९० प्रतिशत भारतीय बजारका विक्री हुने गरेको छ।