'२७ बर्षसम्म सिन्को नभाच्ने एमालेका नेतालाई इलामेली जनताले परास्त गर्छन' - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

'२७ बर्षसम्म सिन्को नभाच्ने एमालेका नेतालाई इलामेली जनताले परास्त गर्छन'


काठमाडौं । नेपाली कांग्रेस इलामका नेताहरुले २७ बर्षसम्म प्रतिपक्षी दल नेकपा एमालले इलामका जनतालाई छलकपट गरेर गुमराहमा राखेको आरोप लगाएका छन् । इलामबाट एमाले परास्त नगरे विकासको गति कहिल्यै अघि बढ्न नसक्ने उनीहरुको भनाइ थियो ।

मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका विषयमा कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवम सांसद सुजाता परियारले पार्टीका आकांक्षीहरुलाई व्यवस्थापन गर्दै सबै एकढिका भएर अघि बढ्नुपर्ने बताइन । उनले भनिन,‘यतिबेला इलामेली जनता एमालेका सुभाष नेम्बाङबाट सन्तुष्ट छैनन । नेम्वाङले पटक पटक बेइमान गरेका छन । उनीप्रति वितृष्णा बढेको छ । त्यसैले कांग्रेसीहरुमा सहमति, सहकार्य र एकता आवश्यक भएको छ । कांग्रेसका उम्मेदवारले चुनाव जित्नैपर्छ ।’

कांग्रेस इलाम सभापति डम्बर खड्काले एमालेबाट प्रतिनिधित्व गर्दै पटक पटक विजयी भएका सुभाषचन्द्र नेम्वाङले सिन्को भाँच्न नसकेको आरोप लगाए । ‘अहिले इलाममा कांग्रेस बलियो भएर आएको छ । नेम्वाङ दुब्लो भइसके । यस पटक इलामेली जनताले उनलाई विदाइ गर्नेछन् र कांग्रेसका उम्मेदवार भारी मतले विजयी हुनेछन्,’उनले भने,‘२७ बर्षको अवधीमा एमालले जिल्लामा कुनै पनि राष्ट्रिय योजना ल्याउन सकेन । पाँच वटा पनि योजना रातो किताबमा राख्न सकेन । आउँदो निर्वाचनमा कांग्रेसले विजयको झन्डा फहराउने छ । यसका लागि सबै लोकतन्त्रवादीहरु एकजुट हुनुपर्छ ।’

पूर्वराज्यमन्त्री एवम पूर्वजिल्ला सभापति केशव थापाले कांग्रेसले आफ्ना कमीकमजोरीहरुलाई सच्याएर एमाले परास्त गर्ने अभियान अघि बढाउनुपर्ने बताए । ‘यस पटक सहमतिमा उम्मेदवार छनोट गरौं । पार्टीलाई अन्तरघातमा जोगाउँदै एमाले परास्त गरेरै छाडौं,’ उनले भने ।
कांग्रेस इलाम उपसभापति खगेन्द्र देवानले यस पटक इलाममा कांग्रेसको जो उम्मेदवार भए पनि चेन अफ कमान्डका रुपमा काम गरेर एमालेलाई पाखा लगाउनुपर्ने बताए । संविधानसभा सदस्य नगेन्द्र कुमार कुमालले आदीवासी जनजातीका मुद्दामा एमाले पूर्वाग्रही रहेको आरोप लगाउँदै संस्कृति र संस्कार जोगाउँदै विकासका कामहरु अघि बढाउन कांग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए ।

महाधिवेशन प्रतिनिधि राजु कार्की र प्राध्यापक याम कार्कीले पार्टीले आर्थिक मुद्दा र विकास निर्माणका क्षेत्रमा स्पष्ट भिजन बनाएर काम गर्नुपर्ने बताए । विद्यार्थी नेता पुजन चाम्लिङले सहमतिमा उम्मेदवार गरिए आफूहरुले जिताएर पठाउने प्रतिबद्धता जनाए । इलाम–काठमाडौं सम्पर्क समितिका सभापति समिप घिमिरेले कुनै गुट उपगुट नभनी इलामेली कांग्रेसलाई एकढिका बनाउन आफूहरुले भूमिका खेल्ने बताए । सम्पर्क समितिलाई स्थापित गराउँदै विधागत रुपमा आफूहरु काम गर्न इच्छुक रहेकाले पार्टीले पूर्ण रुपमा सहयोग गर्न माग राखे ।