एक निष्ठावान नेताको महाप्रस्थान - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

एक निष्ठावान नेताको महाप्रस्थान


काठमाडौं । नेपाली राजनीतिका मानक, समाजवादी चिन्तक तथा कांग्रेसका निष्ठावान नेता प्रदीप गिरीको निधनले नेपालीहरु शोकमा छन् । घाटीको क्यान्सरबाट पीडित गिरीको शनिबार साँझ मेडिसिटी अस्पतालमा निधन भएको हो । उनको आइतबार अपरान्ह पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । गिरीका श्रीमती र एक छोरा छन्। गिरिको परिवारमा पाँच भाइ दाजुभाइ र तीन दिदीबहिनी थिए । उनी माइला हुन् ।

क्यान्सरबाट पीडित गिरीको छातीमा निमोनियाको संक्रमण बढेपछि उपचार गर्न कठिन भएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो । गिरीको पार्थिव शरीरलाई आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालमा र त्यसपछि कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा श्रद्धान्जलीका लागि राखिएको थियो । सानेपाबाटै उनको शवयात्रा शुरु भएको थियो । श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री शेर बहादुर देउवादेखि सबै दलका शीर्ष नेता, शुभेच्छुकहरु तथा विभिन्न तह र तप्काका व्यक्तिहरु अस्पताल तथा पार्टी कार्यालय पुगेका थिए ।

कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठकले गिरीको को शोक प्रस्ताव पारित गर्दै पार्टी कार्यालयहरुमा तीन दिन झण्डा झुकाउने निर्णय गरेको छ । १३ दिनसम्म देशभरका कार्यालयहरुमा गिरिका लागि शोक पुस्तिका राख्ने र शोक प्रकट गर्नेहरुका लागि खुला गर्ने पनि निर्णय गरेको छ ।

गिरी आफनो सैध्दान्तिक निष्ठा, सन्तुलित विचार र देशभक्तिका कारण जनताका बीच अत्यधिक लोकप्रिय थिए । बरिष्ठ पत्रकार किशोर नेपालले गिरीका बारेमा लेखेका छन्, ‘लोकतान्त्रिक समाजवादी चिन्तन र सैध्दान्तिक दृष्टिकोणको अनुगामी बनेर उहाँका सुस्पष्ट राजनीतिक बिचारको कार्यान्वयनगर्नु आजको नेपाली समाजको आबश्यकता हो । देशलार्इ आमूल परिवर्तनको नयाँ बाटोमा हिंडाउन खोजी रहेका नेपालका तन्नेरी पुस्ताले प्रदीप गिरीका बिचारहरुको अध्ययन र अनुशीलनगर्नु समीचीन हुनेछ ।’

सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका उनी समाजवाद र माक्र्सवादका बारेमा घन्टौं प्रवचन दिन सक्थे । कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका सहयात्री गिरी नेपालका सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका नेताका रुपमा चिनिन्छन् ।

उनका बुवा मित्रलाल पनि राजनीतिमै सक्रिय थिए । बुवाको प्रेरणाबाट नेता गिरीले २०१७ सालताका राजनीतिक यात्रा सुरु गरेका थिए । लोकतान्त्रिक आन्दोलनका क्रममा वि।सं।२०२५ मा १८ महिना र २०४२ मा करिव एक वर्षगरी उनी झण्डै चार वर्ष जेल बसेका थिए । मन्त्री बन्ने लालसमा कहिल्यै नलागेका गिरी २०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय बनेका थिए । उनी ०५६ चुनावमा पराजित भए । ०६४ र ०७० को संविधानसभामा समानुपातिक सांसदकोरुपमा संविधान लेख्ने कार्यमा उनस् सक्रिय थिए । गिरीले ०७४ मा भने प्रत्यक्षतर्फ नै चुनाव जितेका थिए ।

२०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र संघको उपाध्यक्ष हुँदै राजनीति अघि बढाएका उनले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गरिरहेका थिए । जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका नेता गिरी बामपन्थी नेताहरुलाई पनि समाजवाद र माक्र्सवादका विषयमा प्रशिक्षण दिने गर्थे ।

नवीन नेपाल निर्माणको संकल्प र दृष्टिकोणमा खरो उत्रने गिरी पाको पुस्तादेखि युवासम्म लोकप्रिय थिए । उनी सरकारी सुविधा लिन मान्दैनथे । समकक्षी नेता तथा सांसदहरु पजेरो चढ्दा आफू भने सामान्य जीवनयापनबाटै संसदीय भूमिका निर्वाह गर्नुपर्छ भन्थे। हालसम्म उनले आफ्नो उपचार आफैं गराएका थिए । उनले आफ्नो पार्टी र सरकारसँग सहयोग मागेनन् । भीमसेनगोलाको आफ्नो घर बेचेर उपचारमा खर्च गरेको भनेर बाहिर चर्चा हुने गरेको छ ।