प्रदिप गिरीको अन्त्येष्टी गरियो - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

प्रदिप गिरीको अन्त्येष्टी गरियो


काठमाडौं । शनिबार साँझ दिवंगत भएका प्रतिनिधि सभा सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदिप गिरीको अन्तिम संस्कार गरिएको छ । आइतबार अपरान्ह पशुपति आर्यघाटमा उनको पार्थिव शरीरको अन्त्येष्टी गरिएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय वीपी नगर सानेपाबाट शुरु भएको शवयात्रा सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाटमा लगिएको थियो ।

गिरीको अन्तिम बिदाइका लागि हजारौं शुभेच्छुक, सर्वसाधारण र कांग्रेस कार्यकर्ता आर्यघाट पुगेका थिए । आइतबार चर्को घामको प्रवाह नगरी सयौं शुभेच्छुक सानेपाबाट आर्यघाटसम्म पुगेर घन्टौ विताएका थिए ।

आर्यघाटमा कांग्रेसका शीर्ष नेता र अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिए । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पनि गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका थिए ।

गिरीको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको हो। घाँटीको क्यान्सरबाट पीडित गिरीलाई ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा क्यान्सरको उपचार गराएर फर्किएपछि उनको छातीमा निमोनिया संक्रमण देखिएको थियो।