नेपाल र भारतका नेताबाट प्रदीप गिरीप्रति श्रद्धाञ्जली - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

नेपाल र भारतका नेताबाट प्रदीप गिरीप्रति श्रद्धाञ्जली


काठमाडौं । नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक एवम सांसद दिवंगत प्रदीप गिरीप्रति नेपालका प्रमुख कम्युनिष्ट पार्टीका नेता तथा भारतीय नेताहरुले शुभेच्छा प्रकट गरेका छन् । गिरीको विचार र सादगी जीवनप्रति प्रशंसा गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् । विशेषगरी नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले गिरीप्रति गहिरो सदभाव व्यक्त गरेका छन् ।

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरी चिन्तनशील राजनीतिकर्मी भएको बताएका छन् । , ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरीलाई नेपाली राजनीतिको वौद्धिक व्यक्तित्व र वरिष्ठ समाजवादी चिन्तक भएको स्मरण गरेका छन् । ‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु,’ प्रचण्डले भनेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि गिरीलाई प्रखर समाजवादी चिन्तकको रुपमा सम्झना गरेका छन् । डा भट्टराईले लेखेका छन्, ‘प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र प्रदीप गिरीको निधनमा निःशब्द छु । २०३४ सालदेखि ४५ वर्ष निरन्तर वहाँसँगको गहन बौद्धिक विमर्शले मलाई ठूलो उर्जा प्रदान गर्ने गरेको थियो । नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई वहाँको निधनले ठूलो क्षति पुगेको छ १ हार्दिक श्रद्धान्जली–समवेदना !’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले स्व गिरीलाई समाजवादी चिन्तकको रुपमा स्मरण गरेका छन् । ‘‘नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरीको शनिबार राति उपचारको क्रममा निधन भएको खबरले अत्यन्त दुःखी बनाएको छ । दिवंगत नेता गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

भारतीय कांग्रेसका राष्ट्रिय महासचिव मोहन प्रकाशलेसमेत गिरीको निधनमा दुःख ब्यक्त गर्दै गिरी एक सच्चा समाजवादी नेता, गान्धीवादी र हृदयदेखि लोहियात व्यक्ति रहेको उल्लेख गरेका छन् । गिरीले आफ्नो सम्पूर्ण जीवन सामाजिक कार्यमा समर्पित गरेको बताउँदै महासचिव मोहन प्रकाशले शोक व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मेरा प्रिय मित्र सांसद श्री प्रदीप गिरीजी को निधनमा गहिरो दुःख व्यक्त गर्दछु। उहाँ एक सच्चा समाजवादी नेता, गान्धीवादी र हृदयदेखि लोहियावादी हुनुहुन्थ्यो। उहाँले आफ्नो सम्पूर्ण जीवन सामाजिक कार्यमा समर्पित गर्नुभयो,’ उनले सामाजिक संजालमा लेखेका छन् ।

भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम येचुरीले गिरी आफ्ना प्रिय एवं निकट मित्र रहेको उल्लेख गरेका छन् । ‘प्रिय एवं घनिष्ठ मित्र प्रदीप गिरीलाई गुमाउनु पर्दा गम्भीर रुपमा दुःखी छु। उनी लोकतन्त्रका योद्धा थिए। नेपालमा राजतन्त्र फ्याँक्ने संघर्षको उनले नेतृत्व गरे । भारतका लामो समयदेखिका घनिष्ट मित्र थिए। सलाम छ प्रदीप,’ उनले भनेका छन् ।

यस्तै भारतको बहुजन समाजवादी पार्टीका नेता सुधिन्द्र भदोरियालेसमेत नेपालले महान् लोकतन्त्र सेनानी गुमाएको भन्दै गिरीको निधनमा शोक व्यक्त गरेका छन् । ‘नेपालका महान् प्रजातन्त्र सेनानी प्रदीप गिरीको निधनबारे एकाबिहानै खबर पाएँ । यति दुःखको अनुभूति भइरहेको छ कि त्यसलाई ब्यक्त गर्न शब्दको अभाव भइरहेको छ। आज भारतले एक मित्र, सही सल्लाह र न्यायका विरुद्ध आवाज बुलन्द गर्ने मान्छे गुमाएको छ। प्रदीपजीप्रति विनम्र श्रद्धान्जली छ’, उनले भनेका छन् ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले गिरीको निधनप्रति दुःख व्यक्त गिरी नेपाली राजनीतिका दार्शनिक तथा समाजवादी विचारक भएको उल्लेख गरेका छन् । ‘नेपाली कांग्रेसके वरिष्ठ नेता एवं प्रतिनिधि सभाके माननीय सदस्य प्रदीप गिरीजीका निधन दुःखद । वे नेपाली राजनीति के दार्शनिक और समाजवादी विचारक थे । उन्होंने राजनीतिक सीमाओं के परे सभी विचारधारा के राजनीतिक दलोंका आदर एवं सम्मान प्राप्त किया। ईश्वर उनकी आत्माको शांति दें,’उनले सामाजिक संजालमा लेखेका छन् ।

भारतमै बनारस हिन्दू विश्वविद्यालय र जवाहरलाल नेहरू विश्वविद्यालय अध्ययन गरेका गिरीको भारतमा समेत असल सम्बन्ध रहेको थियो । २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र संघको उपाध्यक्ष हुँदै राजनीति अघि बढाएका उनले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गरिरहेका थिए ।

कांग्रेसमा बौद्धिक धार तथा समाजवादी चिन्तनलाई प्रतिनिधित्व गर्ने गिरीले अध्ययन र निर्वासित राजनीतिका प्रारम्भिक वर्षमा भारतको दरभंगा, पटना, बनारस र दिल्लीमा झण्डै दुई दशक बिताएका थिए। त्यसबेलादेखि नै गिरी भारतका नेताहरुसँग परिचित र प्रिय बनेका थिए । भारतमा खासगरी डा.राम मनोहर लोहिया धारका समाजवादी नेताहरूसँग उनको निकट सम्बन्ध थियो ।

२०४६ र २०६२–०६३ दुवै आन्दोलनमा उनी नेपालमा भन्दा भारतीय समर्थन हासिल गर्न त्यहाँको उच्चस्तरीय राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग सम्पर्कमा रहेर काम गरेका थिए । उनी गान्धी दर्शनका बारेमा पनि प्रष्ट जानकार थिए । समाजवादी चिन्तन, लोकतान्त्रिक दर्शन, गान्धीवाद, मार्क्सवादका ज्ञाता, कांग्रेस–कम्युनिस्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराणलगायतका बारेमा पनि प्रष्ट प्रवचन दिनसक्ने नेताका रुपमा उनले आफ्नो परिचय स्थापित गरेकाले भारतका नेताहरु उनीप्रति सामिप्यता राख्न चाहन्थे ।