निर्वाचनको रणनीति बनाउदै एमाले, ओलीले पेस गरे राजनीतिक प्रतिवेदन - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

निर्वाचनको रणनीति बनाउदै एमाले, ओलीले पेस गरे राजनीतिक प्रतिवेदन


काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) केन्द्रिय कमिटी बैठक काठमाडौंमा चलिरहेको छ । विशेष गरी उम्मेदवार छनोटका लागि एमालेले मापदण्ड बनाउँदैछ । केन्द्रीय बैठकमा आवश्यक संशोधनसहित उम्मेदवारको मापदण्ड पारित गर्ने एमालेको तयारी छ । यसअघि पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको थियो ।

सोही अन्तर्गत अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमाथि छलफलका लागि ९ वटा समूह बनाएको छ । अध्यक्ष ओलीले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनको छलफलका लागि बैठकले ९ वटा समूह बनाएको हो । बैठकका बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाको छलफल गरी ति समूहले शनिबार बस्ने बैठकमा प्रस्तुति राख्ने बताए ।

बैठकमा केन्द्रिय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को, केन्द्रिय अनुशासन आयोगका अध्यक्ष केशव बडालले केन्द्रिय अनुशासन आयोगको, केन्द्रिय लेखा आयोगका अध्यक्ष पुष्प कँडेलले लेखा आयोगको र केन्द्रिय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन बैठकमा प्रस्तुत गर्नुभएको उनले जानकारी दिए ।

बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड र प्रक्रियाहरु प्रश्ताव भएको उनले बताए । त्यस्तै गत स्थानीय निर्वाचनमा पार्टी भित्र देखा परेका समस्याहरु छानबिनका लागि गठित कार्यदलका संयोजक पार्टी उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट बैठकलाई जानकारी गराउनुभएको पनि रिजालले बताए ।

बैठकले पार्टीको सदस्यता अभिलेखमा देखिएका प्राविधिक समस्या समाधान गर्न गाँठो फुकाउने काम गरेको उपप्रमुख रिजालको भनाई छ । यसैगरी केन्द्रिय कमिटीको तेस्रो बैठकपछि पार्टीले गरेका निर्णयहरुको अनुमोदन पनि भएको जनाइएको छ । भारत प्रवासको पार्टी काम र प्रतिष्ठान सञ्चालनका नियमावली बनाउनका लागि संगठन विभाग प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदलहरु निर्माण गरिएको जानकारी गराइएको छ ।

बैठकमा नवनियुक्त केन्द्रिय कमिटी सदस्यहरुलाई शपथग्रहण गराइएको छ भने नवनियुक्त केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिइएको छ । जसअनुसार जीवन गौतमलाई लुम्बिनी प्रदेश सहइन्चार्ज, अमृतलाल राजवंशीलाई झापा जिल्ला सहइन्चार्ज, धर्मदत्त देवकोटालाई वागमती प्रदेश सहइन्चार्ज र वृजेशकुमार गुप्तालाई लुम्बिनी प्रदेशको सहइन्चार्ज जिम्मेवारी दिइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

चार दिनदेखि लगातार चलेको एमाले बैठक १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बसेर समापन हुनेछ । आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस योजना बनाउनका लागि पार्टीले यही भदौ १२ गतेसम्म स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो ।

"