देशभर ‘जनताका साथमा कांग्रेस’ अभियान - रुपान्तरण
 २०८१ जेठ ७, सोमबार    

देशभर ‘जनताका साथमा कांग्रेस’ अभियान


काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लागि शुक्रबारदेखि मुलुकभर एकसाथ ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गरेको छ ।

अभियानको पहिलो चरण आज भदौ १० गतेदेखि वीपी जन्मजयन्ती भदौ २४ गतेसम्म सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी प्रवक्ता डा प्रकाशशरण महततले जानकारी दिए ।

अभियानको मुख्यरुपमा चार उद्देश्य रहेका छन् । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य छ ।

यसैगरी जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढङ्गले अन्तक्र्रिया गर्ने उद्देश्य रहेको उनले बताए ।

कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सुसूचित गर्ने र निर्वाचनमा कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने तथा निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पङ्क्ति र जनतासमक्ष राख्ने अभियानको उद्देश्य छ ।

अभियान सफल बनाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसकेका छन् भने सात प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकताअनुरुप प्रतिनिधि खटाएका छन् ।

अभियानको उद्घाटन भिन्न जिल्लामा भिन्नभिन्नस्वरुपमा गरिएको छ । जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आँकलन गरेर कहीँ जिल्लास्तरीयरुपमा, केही जिल्लाको निर्देशनअनुरुप क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका या जिल्लाभर एकसाथ वडा तहमा उद्घाटन समारोह गरिएको छ ।

"