नागरिकता विधेयकः एमाले अल्पमतमा - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

नागरिकता विधेयकः एमाले अल्पमतमा


काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि राष्ट्रिय सभाबाट विधायन व्यवस्थापन समितिमा पठाइएको छ । तर विधायन समितिमा पनि सत्तारुढ गठबन्धन बहुमतमा रहेकाले पारित हुने बलियो संभावना छ ।

आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राखेको उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

संघीय संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरेको सन्देश राष्ट्रिय सभाको आइतबारको बैठकमा वाचन गरिएको थियो । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा लेखेको सन्देश वाचन गरेका थिए ।

राष्ट्रपतिले प्रमाणीकरणका लागि प्राप्त भएको १४ दिनपछि गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । त्यसक्रममा राष्ट्रपतिले संसद्लाई ८ पृष्ठ लामो सन्देश लेखेकी थिइन् ।

प्रतिनिधि सभाले एक अक्षर पनि तलमाथि नगरी विधेयक पुनः पारित गरेकामा राष्ट्रिय सभामा भने पुनर्विचार हुने भएको छ । चाहेको भए पाँच दलीय गठबन्धनले हुबहु पारित गर्न सक्ने थियो । तर सरकार यहाँनेर लचक देखिएको छ ।

यद्यपी, प्रतिनिधिसभाले विषयगत समितिमा नपठाइ दोस्रो पटक पारित गरेको उक्त विधेयकलाई राष्ट्रिय सभाले भने विधायन समितिमा पठाए पनि विधायन समितिमा एमाले अल्पमतमा देखिन्छ भने सत्तारुढ गठबन्धन बहुमतमा छ । १५ सदस्यीय समितिमा गठबन्धनका ११ जना सांसद छन् भने एमालेका चार जना छन् । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बिहीबार दिउँसो २ः५९ बजे बस्नेछ ।

उक्त विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न समय सीमाको व्यवस्था गरिएको छैन । एमालेले विवाह गरेको सात वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिनुपर्ने अडान राख्दै आएको छ ।

समितिमा गठबन्धनमा आवद्ध कांग्रेसबाट जितेन्द्र नारायण देव, नारायण दत्त मित्र र प्रकाश पन्थ, माओवादी केन्द्रबाट गंगाकुमारी बेल्वासे, तारामान स्वार, राधेश्याम पासवान र सुरेशकुमार आलेमगर, एकीकृत समाजवादीबाट उदयबहादुर बोहरा र डा बेदुराम भुसाल र जनता समाजवादीबाट प्रमिला कुमारी छन् । स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटा पनि गठबन्धन पक्षधर हुन् ।

समिति सदस्यमा एमालेबाट देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरव सुन्दर श्रेष्ठ छन् । मनोनीतबाट राष्ट्रिय सभा सदस्य तथा विधायन समिति सदस्य डा विमला राई पौडेल एमाले समर्थक हुन् ।