राजेन्द्र लिङ्देनले सांसद पद त्यागे - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

राजेन्द्र लिङ्देनले सांसद पद त्यागे


काठमाडौं । मंसिर ४ पछि पनि संसदको आयु कायम राख्ने अनैतिक काममा सहभागी हुन आफ्नो आत्माले नमान्ने भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले अब आफू सांसदको हैसियतमा उपस्थित नहुने र सांसदको हैसियत प्राप्त गर्ने सेवासुविधा सबै रोक्का गरिदिन सभामुख अग्निप्रसाद सापकोटा र संसद सचिवालयलाई आग्रह गरे । ४ मंसिरमा हुने निर्वाचनको तयारी र संसदको आयु लम्ब्याउने अनैतिक कार्यमा आफू सहभागी हुन नसक्ने भन्दै अध्यक्ष लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका हुन् ।

‘अध्यक्ष हुनुको नाताले आउने चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति बनाउनका लागि जनताकै बीचमा समय खर्चिनुपर्छ । अब भत्ता पकाउनमात्रै संसद आइँदैन भनेर आउन छोडेको थिएँ,’ बैठकमा उनले भने, ‘तर, पछिल्लो दिनमा संसदको आयू मंसिर ४ पछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएका छन् ।

त्यसलाई मलाई असाध्यै लज्जित र दुःखी तुल्याएको छ । यहीँबाट घोषणा गर्न चाहन्छु, आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन मात्र होइन मेरो नाममा पठाइने तलबभत्ता सुविधासमेत रोक्का गरियोस्, कहीँ लेखेर दिनुपर्छ भने नियमानुसार लेखेर पनि दिन्छु ।’