नेकपा एसलाई समानुपातिकमा २० लाख मत ! - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

नेकपा एसलाई समानुपातिकमा २० लाख मत !


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएकाले अब २० लाख कटाउने उनको दाबी छ ।

मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए । उनले गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको र आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे । उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए , मुस्लिम इत्तेहाद सङ्गठनले देशभरका प्रदेशमा भेला भइरहेकाले मुस्लिम एकजुट भई सङ्गठन बलियो बनाउन उनले आग्रह गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले छोरा र छोरीमा विभेद गर्न नहुने बताए । छोरीलाई पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने भन्दै उनले स्थानीय सरकार प्रदेश सरकारले विशेष कदम चाल्नुपर्ने बताए । मधेस प्रदेशले बेटी बचाउ, बेटी पढाउ अभियान सञ्चालन गरी छोरीलाई शिक्षाको पहुँचमा पु¥याउने प्रयास गरेको बताए । कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपालको रक्षा गर्न मुस्लिम समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।