जबराको दाबी : निलम्बन गैरकानूनी - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

जबराको दाबी : निलम्बन गैरकानूनी


काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोग सिफारिस समितिले बयान सकेको छ । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो ।

मंगलबार ८ वटा प्रश्नको जवाफ लिएसँगै समितिले जबरासँगको बयान सकेको हो । पाँच दिन दिएको बयानका क्रममा आफूमाथि लगाइएको महाभियोग प्रस्तावको औचित्य नै सकेको दाबी गर्दै उनले सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञमाथि विभिन्न आक्षेपसमेत लगाएका छन् । उनले आक्षेप लगाएका व्यक्तिहरुलाई पनि छलफलका लागि बोलाउने मंगलबार नै समितिले निर्णय गरेको छ ।

गत १ फागुनमा प्रतिनिधि सभामा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट प्रतिनिधि सभा अन्तर्गतको महाभियोग सिफारिस समितिले बयान लिएको हो । बयानका क्रममा जबराले आफ्नो निलम्बन गैरकानूनी रहेको दावी गरेका छन्।

त्यस्तै उनले सर्वोच्च अदालतको भवन निर्माण सम्बन्धमा आफ्नो भनाइ बंग्याएर कसैको चरित्रहत्या गर्न खोजिएकोमा गुनासो गरे । आफूले बोल्दै नबोलेको कुरा सांसदले मिडियामा बोलेको भन्दै आपत्ति जनाए ।