रश्मीकुमारीको गोलले भारतसँग नेपालले लियो बदला - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

रश्मीकुमारीको गोलले भारतसँग नेपालले लियो बदला


काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमले पहिलो पटक भारतलाई साफ च्याम्पियनशिपको नकआउट चरणमा हराउन सफल भएको छ । नेपाल छैटौंं प्रयासमा भारतलाई नकआउट चरणमा हराएर फाइनलमा पुगेको हो ।

जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई सेमिफाइनलमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल १–० ले विजयी भएको हो ।

नेपालकी रश्मीकुमारी घिसिङले मध्यान्तरअघिको इन्जुरी समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यही गोल नै नेपाललाई फाइनलमा पुर्याउन पर्याप्त रह्यो ।

अहिलेसम्म भएका पाँच वटै प्रतियोगिताको उपाधि भारतले जितेको थियो । पहिलो पटक भारत फाइनलमा नपुगी पराजित भएको छ । नेपाल चार पटक फाइनलमा भारतसँग र एक पटक सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

नेपालले यसपालि बदला लिएको छ । योसँगै साफले नयाँ च्याम्पियन पाउने भएको छ । अहिलेसम्म भएका पाँच वटै संस्करण भारतले जितेको थियो । छैटौं साफमा आएर नयाँ च्याम्पियन पाउने भएको हो ।

नेपालले अब फाइनलमा बंगलादेशसँग खेल्नेछ । सेमिफाइनलमा भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरेको थियो । नेपाल पाँचौंपटक फाइनलमा पुगेको हो । फाइनल खेल सोमबार हुनेछ ।