सत्याग्रही डाक्टरको अडानले सरकारी वार्ता टोलीलाई तनाव - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

सत्याग्रही डाक्टरको अडानले सरकारी वार्ता टोलीलाई तनाव


काठमाडौं । डा.गोविन्द केसी भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं सत्याग्रहमा छन् । चौथो दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ । अस्पतालले केसीमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांसपेसी दुख्ने लगायत समस्या देखिन थालेको चिकित्सकहरुले जनाएका छन् ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका विभिन्न ७ बुँदे मागसहित अनशनमा रहेको उनको माग पुरा गर्न सरकार गम्भीर नभएको देखिन्छ । नौ दिनयता आमरण अनशनरत डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता मंगलबार पनि निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाबारे छलफल भए पनि निष्कर्ष भने ननिस्किएको बताइएको छ ।

वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव डा.रामप्रसाद घिमिरे, स्वास्थ्य सचिव डा.रोशन पोखरेल र शिक्षासविच रामकृष्ण सुवेदी सहभागी थिए । नेपाल मेडिकल एसोसिएसनबाट डा. अनिलविक्रम कार्की सहभागी थिए । डा.केसीको तर्फबाट डा.जीवन क्षेत्री, डा. लिजन महर्जन, प्रितम सुवेदी, ओम प्रकाश अर्याल, डा..विष्णु पोखरेल थिए । यसअघि आइतबार र सोमबार भएको वार्ता पनि निष्कर्षविहीन भएको थियो ।

यता, केसीले थप उपचारका लागि काठमाडौँ जानुपर्ने भनी गरिएको आग्रह अस्वीकार गरेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत डा केसीको स्वास्थ्यको ख्याल गर्दै थप उपचारका लागि काठमाडौँ लैजान नेपाली सेनाको स्काइ ट्रक मंगलबार धनगढी पुगेको भए पनि उनले काठमाडौँ आउन अस्वीकार गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।