नेपालमा मतदाता संख्या १ करोड ६२ लाख नाघ्यो - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

नेपालमा मतदाता संख्या १ करोड ६२ लाख नाघ्यो


काठमाडौं । नेपालमा मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार पुगेको छ । निर्वाचन आयोगले पछिल्लो पटक थप भएका नयाँ मतदातासहित संख्या सार्वजनिक गरेको हो ।

आयोगले निकालेको नयाँ नामावली सूची अनुसार सबैभन्दा धेरै मतदाता मोरङमा ६ लाख ६९ हजार ४ सय ९० र त्यसपछि काठमाडौंमा ६ लाख १३ हजार ४ सय ९७ जना रहेका छन् । यस्तै सबैभन्दा कम मनाङमा ५ हजार ९ सय ७६ जना मतदाता रहेका छन् ।

आयोगले गत ५ पुसदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी कार्य पुनः ५ चैतदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट सुरु गर्ने निर्णय पनि गरेको छ ।

सरकारले गत ५ पुसमा प्रतिनिधि सभा विघटनको गरेर बैशाखका लागि नयाँ निर्वाचनको मिति तोकेपछि नाम संकलन कार्य रोकेको थियो भने संकलित नामावली अद्यावधिक गरेको थियो । आयोगले पछिल्लो समय संकलित नामावलीलाई अद्यावधिक गर्दै देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता पुगेको जनाएको हो ।