प्रधानमन्त्री देउवाका १२ बुँदे निर्देशन - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

प्रधानमन्त्री देउवाका १२ बुँदे निर्देशन


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वलाई लक्षित गरी १२ बुँदे निर्देशन दिएका छन् । एकीकृत र संयुक्त बजार अनुगमन, विज्ञ परिचालन, कालोबजारी एकाधिकार रोक्ने, चाडपर्वको यात्रा सुरक्षित बनाउने लगायतका १२ बुँदे निर्देशन उनले दिएका हुन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मातहतका ५ मन्त्री र सचिवहरुलाई बोलाएर प्रधानमन्त्री देउवाले चाडपर्वलाई लक्षित गरी १२ बुँदे निर्देशन दिँदै कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा बजारमा हुने अवाञ्छित गतिविधिमा सचेत रहँदै आ–आफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिए ।

छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थमन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रधानमन्त्रीको १२ बुँदे निर्देशनः

१.बजार अनुगमन, गुण नियन्त्रण तथा उपभोक्ता हित संरक्षणको जिम्मेवारी प्राप्त गरेका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग,नेपाल गुणस्तर तथा नाप तौल विभाग, यातायात व्यवस्था विभाग, पशु सेवा विभाग, औषधि व्यवस्था विभाग र कृषि विभागले आफू र मातहत कार्यालयहरू समेत परिचालन गरी बजार अनुगमन, नियमन तथा अनुचित व्यापारिक क्रियाकलापको नियन्त्रणलाई सघन बनाउने ।

२.बजारका बहुपक्षीय विषयको अनुगमन गर्दा सम्बन्धित विषयविज्ञ सहितको संयुक्त बजार अनुगमन टोलीले बजारको अनुगमन गर्ने र त्यस्तो टोलीको संयोजन तथा नेतृत्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने व्यवस्था मिलाउने ।

३.जिल्ला प्रशासन कार्यालयहरू र मातहतका इलाका प्रशासन कार्यालयहरूले स्थानीयस्तरमा खाद्यान्न, माछामासु लगायतका मालवस्तुको खरिद बिक्रीमा हुनसक्ने मिलेमतो, कार्टेलिङ, सिण्डिकेट रकालो बजारी जस्ता क्रियाकलापलाई नियन्त्रण गर्न चाडपर्वको अवसरमा अनुगमनलाई सघन तुल्याउने।

४.यातायात व्यवस्था विभागले यात्रुहरूको सुरक्षित र भरपर्दो यातायात सुविधाको सुनिश्चितता गर्ने । साथै सबै बसपार्क तथा प्रमुख नाकाहरूमा अनुगमन गरी सार्वजनिक यातायातका सवारी साधनले तोकिएभन्दा बढी भाडा नलिएको र क्षमता भन्दा बढी यात्रु नबोकेको सुनिश्चितता गर्ने । यस अतिरिक्त चाडपर्वको अवसरमा सञ्चालन हुने यातायात साधनको अवस्था सम्बन्धमा छड्के रूपमा प्राविधिक परीक्षण गरी सवारी साधनको अवस्था दुरुस्त रहे नरहेको जाँच पड्ताल गर्ने प्रबन्ध मिलाउने ।

५.पशुसेवा विभाग र मातहतका कार्यालयहरूले हाटबजार तथा स्थानीस्तरमा हुने पशुपन्छी खरिद बिक्रीको अनुगमन गरी त्यसरी बिक्री वितरण भइरहेका पशुपन्छीहरू स्वस्थ रहेको सुनिश्चितता गर्ने ।

६. कृषि विभाग तथा कृषि ज्ञानकेन्द्रले तरकारी तथा फलफूलको थोक तथा खुद्रा बिक्री केन्द्रको निरीक्षण गरी विषादी रहित तरकारी तथा फलफूल मात्र बिक्री वितरणको सुनिश्चितता मिलाउने । तरकारी तथा फलफूलमा जथाभावी विषादी मिसाउने उपर कडा कानुनी कारबाही गर्ने ।

७.बजारमा बिक्रीका लागि राखिएका माल वस्तुको तोकिए बमोजिमको गुणस्तर छ छैन र प्रयोगमा रहेका नापतौल उपकरणहरू मान्यता प्राप्त छन् रछैनन् अनुगमन गरी गुणस्तरीय आपूर्तिको सुनिश्चितता गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्ने ।

८.राजमार्ग तथा प्रमुख शहरी केन्द्रमा सञ्चालित होटल तथा रेष्टुरेन्ट व्यवसायले बिक्रीका लागि राखेको तयारी खाद्य वस्तु खानयोग्य र स्वस्थकर छ छैन भन्ने विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सघन अनुगमन गर्ने ।

९. बजारमा डेंगु तथा कोभिड(१९ लगायतका रोगहरूसँग जुध्नको लागि अत्यावश्यक मानिएका आधारभूत औषधिहरूको पर्याप्त उत्पादन, सहज आपूर्ति र विक्री वितरणको सुनिश्चितता गर्नस्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागले संयुक्त रूपमा अनुगमन गर्ने ।

१०.चाडपर्वको बेलामा बजारमा हुनसक्ने भीडभाडसँगै चोरी, लुटपाट जस्ता गतिविधिलाई पूर्ण नियन्त्रणमा राख्न संवेदनशील क्षेत्रमा अतिरिक्त संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै आम नागरिकलाई समेत सजग र सचेत गराउन गृह मन्त्रालय र मातहतका जिल्ला प्रशासन कार्यालयहरूले चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने । कहीं कतै अवाञ्छित गतिविधि हुन लागेमा नजिकको प्रहरी वा प्रहरीको टोलफ्री नम्बर १०० मा फोन गर्न आम जनतालाई अनुरोध गर्ने ।

११.बजार अनुगमन र उपभोक्ताको हित संरक्षणका लागि सबै प्रदेश सरकार तथा स्थानीय तहलाई पूर्ण परिचालन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने ।

१२.सरकारले चाडपर्वहरूलाई लक्षितगरी खोलेको सहुलियत पसलहरूबाट बढी भन्दा बढी सर्वसाधारणले लाभ लिनसक्ने गरी प्रबन्ध मिलाउने तथा यसको आवश्यक प्रचार प्रसार गर्ने कार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मिलाउने ।

"