आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको दुखेसो पोखेका छन् । शुक्रबार बिहान राजधानीको चाबहिलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले विद्रोह गर्ने बेला आएको बताएका हुन् ।

सोही कार्यक्रममा उनले डेंगी नियन्त्रणमा समेत सरकार असफल भएको भन्दै चर्को आलोचना गरे । हिजोका दिन विपक्षी सरकार भएका बेलामा कोरोना नियन्त्रण गर्न नसकेको भन्दै आफूहरुले आलोचना गरेको तर अहिले त्यो पाठ नसिकी डेंगी नियन्त्रणमा आफ्नो सरकार हुँदा पनि केही काम नगरेको भन्दै आलोचना गरेका हुन् ।

उनले सरकार निर्वाचनलगायत अन्य कुरामा मात्रै केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको उनको गुनासो थियो । महामन्त्री थापाले डेंगीका कारण चाडबाडको बेलामा जनजीवन प्रभावित बनेको भन्दै प्रधानमन्त्रीले आपतकालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर संक्रमणलाई न्यूनीकरण गर्ने अभियान शुरु गर्नुपर्ने बताए ।