कांग्रेसका बागी उम्मेदवारलाई पाँच दिनको समयसीमा - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

कांग्रेसका बागी उम्मेदवारलाई पाँच दिनको समयसीमा


काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन थप पाँच दिनको समय दिएको छ । निर्वाचन आयोगले २६ असोज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएकाहरू सबैको उम्मेदवार सूची सार्वजनिक गरेको छ ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, जसपालगायतका दलले आयोगले दिएको समयसम्म उम्मेदवारी फिर्ता नलिने बागीहरूलाई कारबाही थालेका छन् । कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तिअनुसार पाँच वर्षसम्मका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ । तर, कांग्रेसले बिहीबार बागीलाई थप पाँच दिन समय दिएर उम्मेदवारी निष्क्रिय बनाउने रणनीति अख्तियार गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी ३१ असोजसम्म आफ्नो उम्मेदवारी फिर्ता लिई निष्क्रिय बस्ने बागी उम्मेदवार, प्रस्ताव र समर्थकलाई पार्टीले आवश्यक प्रक्रिया पूरा गरी कारबाही फुकुवा गर्ने उल्लेख गरेका छन् । त्यसका लागि कांग्रेसले पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धतासहित सार्वजनिक रूपमा वक्तव्य जारी गर्नुपर्ने उल्लेख गरेको छ ।