भीम रावलको अडान - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

भीम रावलको अडान


काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधिसा चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले यस्तो घोषणा गरेका हुन् । उनले भने, ‘पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्छु, असंवैधानिक कदमविरुद्ध लगातार आवाज उठाउछु ।’

उनले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए । उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।

एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने उनको भनाइ छ । एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताए । उनले भने, ‘एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरुलाई पनि समर्थन गरेको भन्दै उनीहरुका लागि मत माग्न सकिन्नँ।’ उनले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गरेका छन्।