सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न ‘उर्दी’ ! - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न ‘उर्दी’ !


काठमाडौं । प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । देउवाले आफूले हसिँया हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै काँग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताए ।

मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आम मतदातालाई आग्रह गरे । सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको भनाइ थियो । देउवाले गठबन्धन दलहरुबीच अविश्वासको वातावरण नरहेको भन्दै खुसी समेत व्यक्त गरे ।

उनले भने,‘अव हसिँया हतौडा, को रुख भन्ने नै छैन अव । कसलाई भन्ने नै छैन । त्यसकारण कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने । हसिँया हतौडा भएको ठाउँमा हसिया हतौडालाई नै भोट हाल्ने । रुख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने । पुगी हाल्यो नि । यति भए पुगी हाल्यो नि । यति भए पुगी हाल्यो नि । किन चाहियो अरु कुरा ? सबै दाजुभाई दिदीबहिनीहरुले यो गठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर यो देशलाई अझ स्थायी रुपमा अगाडि बढाउनका लागि स्थायी शान्ति, स्थायी प्रजातन्त्र, स्थायी गणतन्त्रलाई अगाडि बढाउनका सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।’

प्रधानमन्त्री देउवाले सत्तारुढ दलका नेताहरुले सरकारलाई सहयोग गरेको भन्दै धन्यवाद समेत दिए । उनले संसद दुई पटक भंग गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेको तर आफूहरुले त्यसलाई जोगाएको पनि बताए ।

त्यस्तै यता, सत्ता गठबन्धन दलहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि संयुक्त अपिल जारी गर्दै भोट मागेको छ । गठबन्धन दल कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संयुक्त हस्ताक्षर गरेर भोट मागेका हुन् । लोसपा र राष्ट्रिय जनमोर्चाले भने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छैनन् ।

गठबन्धन दलहरुले लोकतन्त्र, संविधान र विधिको शासन मार्फत् सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकता भएको दाबीसहित गठबन्धनलाई अत्यधिक बहुमतका साथ विजयी गराउन आह्वान गरेका छन् ।