एमालेको मिसनः प्रतिनिधि सभामा १ सय ५० सिट - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

एमालेको मिसनः प्रतिनिधि सभामा १ सय ५० सिट


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमाथि तिखो प्रहार गर्न छाडेका छैनन् । निर्वाचन नजिकिदै जाँदा ओली गठबन्धनप्रति थप आक्रामक देखिएका छन् । उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि सत्ता गठबन्धन पत्तासाफ हुने दाबी समेत गरे । निर्वाचनमा एमालेले प्रतिनिधि सभातर्फ १ सय ५० सिट जित्ने दाबी समेत गरे ।

गृह जिल्ला झापाको दमकमा बुधबार आयोजित एमाले निर्वाचन अभियान अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,‘मंसिर ४ को चुनावमा गठबन्धनलाई पत्तासाफ गर्नुपर्छ, एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ ।’

प्रत्यक्षतर्फ कम्तिमा १०० र समानुपातिकमा ५० सिट जित्ने अध्यक्ष ओलीले बताए । उनले भने, ‘हामी मिसन १५० मा छौं, यसपटकको प्रतिनिधि सभामा एमालेले १ सय ५० सिट कम्तिमा जित्नेछ, कुनै गठबन्धनका छेस्काछेस्कीले एमालेलाई छेक्नेवाला छैन ।’

एमाले वचनको पक्का पार्टी भएको भन्दै अध्यक्ष ‌ओलीले झापामा राप्रपा र अन्य ठाउँमा तालमेल गरेका ठाउँमा जसपाका उम्मेदवारलाई भोट दिन नेता कार्यकर्तालाई निर्देशन दिए ।

अहिलेको सरकारको आयु एक महिनामात्र रहेको ओलीले बताए । गठबन्धन सरकारको दिनगन्ती सुरु भएको उनले बताए । देश बिगारेको दण्ड गठबन्धनवालाहरुलाई दिनुपर्ने र देश बनाउन एमालेलाई विजयी गराउनुपर्ने बताए । एमालेसँग सहकार्य गर्ने दलहरुको भविष्य राम्रो रहेको बताउँदै उनले यसपटकको चुनावमा राप्रपालाई राष्ट्रिय पार्टी बनाउने र राष्ट्रिय पार्टी रहेको जसपाको अस्तित्व जोगाउने जिम्मा एमालेले लिनेपनि बताए ।

झापाकै अर्को कार्यक्रममा उनले ओलीले नेपाली कांग्रेससँग कुनै नीति र भिजन नभएको आरोप लगाए । धुलाबारीमा बुधबार आयोजित राप्रपा र एमालेले आयोजना गरेको संयुक्त कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेससँग देश बनाउने कुनै भिजन नभएको बताए । एमालेले गरेका कामको जस कांग्रेसले लिने गरेको उनको भनाइ थियो । कांग्रेसले चुनावी घोषणापत्रमा लेख्ने कुनै एजेण्डा नपाएको उनले बताए ।

चुनावी घोषणापत्र समेत भाडाका बुद्धिजिवी लगाएर लेख्ने अवस्थामा कांग्रेस पुगेको बताउँदै भने,‘कांग्रेसले सधैंझैँ घोषणापत्र त ल्याउँछ, तर काम कामै नलाग्ने, भाडाको बुद्धिजिविले लेखिदिएको घोषणापत्र उहाँहरूले नेपाली जनताको बीचमा छर्नुहुनेछ, त्यो कुनै कांग्रेसको घोषणापत्र हुने छैन ।’