नेपाल सुपर लिगः आठ खेलाडीको मूल्य सर्वाधिक महंगो - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

नेपाल सुपर लिगः आठ खेलाडीको मूल्य सर्वाधिक महंगो


काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) सकिएको छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार आयोजना गरेको अक्सनबाट ८ खेलाडी सर्वाधिक महंगो मूल्यमा अनुबन्धित भएका छन् । सर्वाधिक महंगो मूल्यमा अनुबन्धित हुने खेलाडीमा सुजल श्रेष्ठ, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार छन् ।

मिडफिल्डर सुजल र गोलकिपर दीप पोखरा थन्डर्समा अनुबन्धित भए । डिफेन्डर विकास खवास र गोलकिपर विशाल एफसी चितवनमा अनुबन्ध हुँदा तेज काठमाडौं रेजर्समा अनुबन्धित भएका हुन् ।

यस्तै डिफेन्डर दिनेश धनगढी एफसी र मिडफिल्डर एरिक विष्ट ललितपुर सिटीमा अनुबन्धित भए । ‘ए’ श्रेणीमा रहेका उनीहरु अधिकतम मूल्य २ लाखमा अनुबन्धित भएका हुन् ।

अक्सनमा कुल १ सय ४९ जना खेलाडीलाई समावेश गरिएको थियो । जसमा ‘ए’ श्रेणीमा २८ , ‘बी’ श्रेणीमा ६३ र ‘सी’ श्रेणीमा ५८ खेलाडी रहेका थिए ।

पहिलो पटक हुन लागेको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग वैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।