नेपाली मुद्रा र नोटमा नेपाल संवत लेखिनुपर्ने - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

नेपाली मुद्रा र नोटमा नेपाल संवत लेखिनुपर्ने


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शङ्खधर साख्वाःको प्रशंसा गरेका छन् । धर्म संस्कृति, इतिहास र परम्परासँग अभिन्न रूपमा जोडिएको नेपाल संवतको जगेर्ना गर्दै यसको महत्त्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न पनि उनले आब्हान गरे ।

नेपाल संवत् ११४३ को अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले बुधबार वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको मौलिक संवतका रुपमा रहेको नेपाल संवतको प्रयोगलाई आगामी दिनमा थप व्यापकता दिन आवश्यक रहेको बताए । देउवाले समाजमा गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक स्तर वृद्धि गर्न र जनतालाई सुखी एवम् स्वतन्त्र तुल्याउन शङ्खधर साख्वाःले गर्नुभएको कामबाट हामी सबैले प्रेरणा लिन सक्नुपर्नेमा जोड दिए ।

देउवाले व्यक्तिगतभन्दा सामूहिक र दलगत हितभन्दा माथि उठेर राष्ट्रिय हितलाई आत्मसात् गरी अघि बढ्न सके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्ने विश्वास व्यक्त गरे । देउवाले न्हूदँको अवसरमा हरेक वर्ष काठमाडौँको वसन्तपुरमा आयोजना गरिने बृहत् सांस्कृतिक ¥याली कार्यक्रमबाट राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानलाई प्रचार–प्रसार हुनुका साथै नेपाल संवत्को ऐतिहासिकता, व्यवहारिकता, सांस्कृतिक महत्त्वका विविध पक्षलाई आम नागरिकसमक्ष पुर्‍याउन गरिएका प्रयास प्रशंसनीय रहेको बताए ।

उनले आगामी दिनमा पनि राष्ट्रिय विभूति शङ्खधर साख्वाः र नेपाल संवत्का बारेमा थप रचनात्मक कार्य गर्दै जानुपर्नेमा जोड दिए । साथै, साख्वाःको योगदानलाई प्रचार प्रसार गरी स्वदेश तथा विदेशका नागरिकमाझ पुर्‍याएर सकारात्मक सन्देशको प्रवाह गर्ने कार्यमा क्रियाशील विभिन्न सामाजिक सङ्घ संस्थाका ऊर्जावान् प्रतिनिधिलगायत समस्त नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरे ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको उत्पत्ति स्थलको जगेर्नाका साथै उनको पहिचान र गौरवलाई स्थापित गरिनुपर्नेमा जोड दिए ।

समारोह समितिका अध्यक्ष प्राडा नरेशमान बज्राचार्यले राष्ट्रिय मान्यता पाएको घोषणा गरिएको नेपाल संवतलाई व्यवहारिक कार्यान्वयन गरिनुपर्ने बताए । उनले नेपाली मुद्रा र नोटमा नेपाल संवत लेखिनुपर्ने, नेपाल संवत् प्रतिष्ठान स्थापना गरिनुपर्ने लगायत माग अघि सारे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ, महानगरका उप–प्रमुख सुनिता ढङ्गोल लगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।