हलो चिन्हमा भोट माग्दै ओली - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

हलो चिन्हमा भोट माग्दै ओली


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ मा एमालेको इज्जतका लागि भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताएका छन् ।

एमाले र राप्रपाले शुक्रबार भद्रपुरमा आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले एमालेले राप्रपा अध्यक्ष लिङदेनलाई जिताउन सम्पूर्ण कार्यकर्तालाई निर्धक्क भएर हलोमा भोट हाल्न निर्देशन दिए ।

सम्बोधनका क्रममा ओलीले भने,‘यो सहकार्य राष्ट्रिय हितको पक्षमा रहेको छ । मैले प्रचण्डलाई पनि लिएको थिएँ । तर ड्रमका ड्रम पानी सकिए, डल्लाका डल्ला साबुन सकिए । जति धोयो, जति पखाल्यो जस्ताको त्यस्तै ।’ कुनैबेलाका आफ्ना सहयात्री नेतालाई पनि ओलीले ब्यग्य गरे । उनले भने,‘माधवकुमार नेपाल र झलनाथ खनाललाई दशकौं साथमा लिएर हिडेँ । प्रचण्डलाई मिलाएर हेरेँ तर देशको हितमा कहिल्यै पनि काम गरेनन् ।’

अध्यक्ष ओलीले आगामी ४ गतेको निर्वाचनपछि आफ्नो पार्टीको बहुमत आउने र राप्रपा र जसपासँग संयुक्त सरकार गठन गर्ने बताए । त्यसैगरी राप्रपाका अध्यक्ष लिङदेनले राजनीतिलाई अपराधीकरण गर्ने प्रवृत्तिलाई घुँडा टेकाउनु पर्ने बताए ।

झापामा एमाले र राप्रपाबीच चुनावी तालमेल छ । राप्रपाको भागमा एउटा र बाँकी चारमा एमालेका उम्मेदवार रहेका छन् । जसमा झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी रहेको छ । झापा ५ बाट अध्यक्ष ओली उम्मेदवार रहेका छन् ।