मंसिर ४ पछि एमालेको सरकार : महासचिव पोखरेल - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

मंसिर ४ पछि एमालेको सरकार : महासचिव पोखरेल


दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर ४ पछि एमालेको सरकार बन्ने बताएका छन् । गृह जिल्ला दाङमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको विकास र समृद्धि तथा जनताको हितमा काम गर्ने सरकार गठनका लागि एमालेको सूर्य चिन्हमा भोट दिन आग्रह गरे ।

उनले भने,‘नेकपा एमाले देश र जनताको पक्षमा काम गर्ने पार्टी हो, विदेशीले के भन्छ त्यस अनुसार चल्ने सरकार होइन, देशको विकास र समृद्धि तथा जनताको हितमा काम गर्ने सरकार गठनका लागि एमालेका पक्षमा मतदान गर्न म सबैमा आग्रह गर्दछु ।’

एमालेको सरकार बनेसँगै सुकुम्बासी लगायत समस्या २ वर्षभित्र समाधान गर्ने पनि महासचिव पोखरेलले बताए । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन, सुकुम्बासी समस्या स्थायी रुपमा समाधान गर्न कानुन निर्माण र शक्तिशाली आयोग गठन गरी काम थालेकै बेला सरकारबाट हट्नुपरेकाले त्यसलाई टुंगोमा पुर्‍याउन नसकिएको पनि उनले स्मरण गराए ।

महासचिव पोखरेले एमालेलाई बहुमतको सरकार गठन गर्ने गरी विजयी बनाएमा अर्को चुनावमा जनतासामु आउँदा भूमिहीन, सुकुम्वासी देख्नुनपर्ने उहाँले बताए ।