काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएलगत्तै नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरिएको छ । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता बडाललाई नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरिन् । बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए ।
पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो दाहाल नेपाल पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिएका थिए । अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।
बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव समेत हुन् । यता राजीनामा पछि महान्यायाधिक्ताका रूपमा तीन वर्षको कार्यकालले आफूले संस्थागत सुधार र सरकारी वकिलको नेतृत्वका विकासमा खर्च गरेको खरेलको भनाइ छ । “तीन वर्ष केही महिनाको बसाइमा सरकारी वकिललाई चिनिने अवस्थामा पुर्याएको छु”, उनले थपे, “सरकारी वकिललाई उनीहरूको क्षमता विकासका लागि विदेशी अभ्यासको अवलोकन गर्ने अवसरको समेत उल्लेख सुधार गरेको छु ।”
विसं २०४२ बाट वकालत शुरु गरेका खरेलले सक्रिय राजनीतिक जीवन बिताए । पूर्वकानूनमन्त्रीसमेत भइसकेको मान्छे महान्यायाधिवक्ता बनेको भनेर केही समय आलोचना पनि भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार २०७४ फागुन ३ गते गठन भएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन ८ गते खरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी थिइन् ।