गठबन्धनप्रति आक्रामक केपी ओली - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

गठबन्धनप्रति आक्रामक केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्तारुढ गठबन्धन विरुद्ध उत्रिएका छन् । उनले गठबन्धनका उम्मेदवारहरुलाई विभिन्न आरोप लगाउने र कटाक्ष गर्ने क्रमलाई निरन्तरता दिएका छन् । गृह जिल्ला झापाको शनिश्चरेस्थित सालबारीमा मंगलबार साँझ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले उम्मेदवार नपाएर एमालेका नेता तानेर लगेको पनि बताए ।

त्यसक्रममा झापा निर्वाचन क्षेत्र नम्बर(२ मा एमालेले असाधारण र सक्षम उम्मेदवार उठाएको बताए । उनले यस क्षेत्रमा गठबन्धनले उठाएको उम्मेदवार देवराज घिमिरेको सामान्य कार्यकर्ता मात्रै भएको बताए । ओलीले भने,‘विचरो गठबन्धन ! उम्मेदवार नपाएर हाम्रै घरको चोरेर लगेछ, उम्मेदवार पाएनछ कतै अनि हाम्रै घरबाट तानेर लगेछ, हाम्रो घरबाट तानेर लगेको उम्मेदवार देवराज घिमिरेको एउटा साधारण कार्यकर्ता हो, मैले यसमा केही भनिरहनुपर्दैन, चाहे स्वतन्त्रको नाममा होस् ।’

सो क्षेत्रमा प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हरिकुमार राना मैदानमा छन् । अर्जुनधारा नगरपालिकाका पूर्व मेयर समेत रहनुभएका राना उम्मेदवारी दर्ता गर्नु केही दिन अघि एमाले छाडेर माओवादी प्रवेश गरेका थिए । अहिलेको गठबन्धनमा नीति र विचार मात्र नभएर उम्मेदवारको समेत खडेरी परेको बताउँदै उनले भने,‘हाम्रो घरबाट एकजना हराए, कहाँ गए भनेर हेरेको त, गठबन्धनले कोही नपाएर च्याप्प समातेर उम्मेदवार पो बनाइराखेको, कति साह्रो खडेरी परेको त्यहाँ ।’ उम्मेदवार हुनु स्वभाविक भएपनि जिम्मेवारी हाँक्न सक्ने कुरा मुख्य रहेको उनले बताए ।

अर्को कार्यक्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सत्ता गठबन्धन अस्वभाविक र अनौठो रहेको बताए । उनले भने,‘देश बनाउने सरकार तोडेर, देश बनाउने पार्टी कमजोर पारेर, त्यो पार्टी फोडेर, सरकार ढालेर, संसद्‍बाट नसकेपछि अदालतको सेटिङबाट परमादेश लिएर सरकार बनाए, कमशेकम एमालेलाई देखाउन भएपनि एउटा सिन्को त भाँच्नुपर्थ्यो, एउटा सानो काम त गर्नुपर्थ्यो, इखैले पनि त केही गर्नुपर्थ्यो तर यिनीहरुलाई के‍ही गर्न आउँदैन ।’

सत्ता गठबन्धनले खाने बाहेक अरु केही गर्न नसकेको उनको भनाइ छ । उनले भने,‘६ वटा पार्टीका ६ वटा नेताको बुद्धि लगाएर यिनीहरुले के चाहिँ गरे त भन्दा खाने काम गरे, तसर्थ काम गर्ने, जनता सम्झिने, केटाकेटी सम्झिने, बुढाबुढी सम्झिने, देशका लागि, जनताका लागि, राष्ट्रिय स्वाधिनताको रक्षाका लागि काम गर्ने पार्टी भनेको एमाले मात्रै हो, हामीले २० ग्यारेन्टी भनेका छौं, ती ग्यारेन्टिले नेपाल अब कसरी अगाडि बढ्छ भन्ने तय गर्नेछ ।’