बीपी कांग्रेसको घोषणापत्र सार्वजनिक - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

बीपी कांग्रेसको घोषणापत्र सार्वजनिक


काठमाडौं । नेपाली कांग्रेस (बीपी)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरेर सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आठ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीले उद्योग, सडक पुर्वाधार, हवाईसेवा, खानेपानी, सरसफाई, उर्जा, वैकल्पिक उर्जा, कृषि, सिंचाई, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ ।

पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दैै आम सञ्चारमा सबै नेपालीको सहज पहुँच पुर्याउन सर्वशुलभ,भरपर्दो र गुणस्तरीय सूचना उपलब्ध गराउन सरकारी सञ्चार माध्यमलाई पब्लिक सर्भिस मेडियामा रुपान्तरित गरिने घोषणापत्रमा प्रतिवद्धता गरिएको छ । कुनै पनि अधिनायकवादी र निरंकुशताको विरुद्ध पार्टी संघर्षशिल रहने र संविधानलाई गतिशिल राजनीतिक दस्तावेजको रुपमा स्वीकार्ने पनि प्रतिबद्धता व्यक्त गरिएको छ । संविधानमा समय अनुकुल र जनभावनालाई मध्येनजर गरेर समसामयिक सुधार र परिमार्जन गर्न पार्टी सदैव तयार रहने पनि बताइएको छ ।

त्यस्तै, बीपी कोइरालाको सोचाईअनुरुप उत्पादन बृद्धिसँगै स्रोत र साधनको न्यायोचित वितरण नै पार्टीको मुल आर्थिक नीतिको रुपमा प्रस्तुत गरिएको छ । देशको राजस्व बढाउन करको दायरा बढाउन न्यायोचित नीति अपनाइने पनि उल्लेख गरिएको छ । राजश्व संकलन प्रक्रिया प्रविधिमैत्री, पारदर्शी र चुहावटमुक्त बनाइने र आगामी ५ वर्षभित्र वार्षिक २५ लाख पर्यटक देशभित्र भित्राउने लक्ष्यका साथ आवश्यक पूर्वाधार निर्माण गरिने प्रतिवद्धता गरिएको छ । यसैगरी, पार्टीले उद्योगतर्फ हरित अर्थतन्त्रको सिद्धान्त अनुसार कृषि र बन पैदावमरमा आधारित उद्योगमा निजी क्षेत्रलाई प्रशय दिने जनाएको छ।

आगामी ५ वर्षभित्र हुलाकी, मध्यपहाडी र निजगढ–काठमाडौं द्रुर्तमार्गको निर्माण कार्य सम्पन्न गर्ने र विद्युतिय यातायातलाई प्रोत्साहन गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । खानेपानीको मुल स्रोत सुक्न नदिन त्यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा पार्टीले जोड दिएको छ । घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री देवेन्द्र प्रकाश पौडेलले कांग्रेस बी.पी.बाट ७८ प्रत्यक्ष र १ सय ७३ सदस्यहरु समानुपातिकमा प्रतिनिधि सभा र प्रदेशसभामा उम्मेदवारी रहेको जानकारी दिएका छन् । सम्पुर्ण उम्मेदवारहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिरहेको उनले सुनाए । सबै क्षेत्रलाई समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरिएको विश्वास दिलाए ।

मुलुकले गत वर्षमा मात्रै करिब १९ खर्ब व्यापार घाटा ब्योहोरेको भन्दै सो बाट मुक्त गर्न आफ्नो पार्टीले आर्थिक नीति लिएको बताए । राष्ट्रियतासहितको प्रजातान्त्रिक समाजवादको दिशा नै पार्टीको घोषणापत्रको सार भएको उनको भनाइ थियो । दिनदिनै सिमानामा नेपालीहरु मारिएपनि ठुला राजनीतिक दलहरु कोही नबोलेको भन्दै उनले गुनासो पोखे ।

पार्टीका उपसभापति रिता खनालले जनताहरुलाई आफूले भोट किन दिने त्यसबारे कुनै जानकारी नभएको समेत टिप्पणी गरिन् । उनले देशमा अझैपनि गरिब र अशिक्षितको संख्या धेरै रहेको भन्दै तिनीहरुलाई चाँडै राजनीतिक दलका उम्मेदवारहरुले आर्थिक प्रभावमा पार्न सक्ने औल्याइन् । उनले भनिन्,‘अहिले सत्तामा रहेका दलहरुले देशका नागरिक सचेत र शिक्षित भए भने सत्तामा बस्न नसकिने अवस्था देखेकाले नीतिगत रुपमा योजना बनाएर देशका जनतालाई गरिब बनाइएको हो ।’