गठबन्धन अझै १०-१५ वर्षसम्म : देउवा - रुपान्तरण
 २०८१ बैशाख २९, शनिबार    

गठबन्धन अझै १०-१५ वर्षसम्म : देउवा


काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षा र स्थिरताका लागि अझैं १०/१५ वर्षसम्म गठबन्धन कायमै राख्ने बताएका छन् । गठबन्धनको एउटै शर्त स्थायी लोकतन्त्रलाई समृद्ध पार्नु रहेको उल्लेख गर्दै उनले जनताले पाएको अधिकार कमजोर गर्न नसकोस् र हटाउन नसकोस् भनेर गठबन्धन बनेको उल्लेख गरे ।

सत्ता गठबन्धन एकजुट भएर चुनावमा गएको भन्दै उनले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराएमा गठबन्धन निरन्तर रहने तर्क गरे ।

लोकतन्त्रलाई र संविधानलाई कसैले कमजोर नबनाओस् भनेर गठबन्धन गरिएको उनले बताए । शुक्रबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले काठमाडौं क्षेत्र नम्बर १० मा पार्टीका उम्मेदवार राजन केसीलाई चुनाव जिताएर पठाएर मन्त्री बनाउने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री देउवाले जथाभावी तरिकाले ओली (नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली) ले दुई दुई पटक संसद् भङ्ग गरेपछि आफूहरू मिलेर त्यसलाई बचाएको दृष्टान्त पेश गरे । प्रधानमन्त्रीले भने, “दुई पटक संसद भङ्ग गर्न थालेपछि हामीले प्रजातन्त्र बचाएका हौँ । लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाएका हौँ । यसलाई स्थायी बनाउन गठबन्धन बनेको छ ।”