ओलीले महाभूल गरे - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

ओलीले महाभूल गरे


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति संवृद्धि र एकताबद्ध नेपालका लागि गठबन्धनको बहुमत सरकार जरुरी रहेको बताएका छन् । गठबन्धनले जितेमा दुई–तीन कार्यकालसम्म दलहरुबीच सहकार्य हुने पनि उनले बताए ।

नेपाली कांग्रेस चितवनको आयोजनामा भरतपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने,‘हामी अहिलेको चुनाव जितेमा दुई–तीन वटा चुनावसम्म सहकार्य गरेर अगाडी बढ्छौं । स्थायी शान्ति चाहिएको छ, सम्पन्न देश र जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न देश बनाइ रोजगारीको सिर्जना गर्नेछौँ ।

गणतन्त्रको स्थायित्व गर्ने दायित्व पनि गठबन्धन दलहरूकै काँधमा भएको प्रधानमन्त्री देउवाले बताए । संसद् विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले महाभूल गरेको उनले बताए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई शान्ति र सम्वृद्धितर्फ लैजानुपर्ने धारणा राखे । “यो पटक अग्रगमन र प्रतिगमनविरुद्धको लडाइँ हुदैछ । मलाई विश्वास छ । यो नेपाली जनता अग्रगमनका पक्षमा उभिने छन् ।”

एकीकृत समाजवादी का उपाध्यक्ष केशवलाल श्रेष्ठले मुलुक अस्थिरतातर्फ लैजाने दृढताविरुद्धमा गठबन्धन भएकाले यसैका पक्षमा मतदान गर्न आग्रह गरे ।राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रष्मीराज नेपालीले राष्ट्रियताका पक्षमा उभिने उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।