‘१६५ क्षेत्रबाट निर्वाचितलाई नै गठबन्धनले मन्त्री बनाउने हो ?' - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

‘१६५ क्षेत्रबाट निर्वाचितलाई नै गठबन्धनले मन्त्री बनाउने हो ?'


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुमाथि निरन्तर खनिएका छन् । उनले मन्त्री बनाउने झुटो आश्वासन बाँड्दै हिँडेकोप्रति पनि कटाक्ष गर्न भ्याए ।

दैलेखको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जहाँ पुग्यो त्यहाँको निर्वाचन क्षेत्रको उम्मेदवारलाई मन्त्री बनाउने आश्वासन बाँड्दै हिँडेको बताए। साथै उनले संविधानले २५ जना मात्र मन्त्री बनाउन मिल्ने हुँदा हुँदै पनि प्रचण्डले १६५ क्षेत्रमा मन्त्री बनाउने आश्वासन बाँडेको टिप्पणी गरे।

‘म झुटो बोल्दिनँ। मन्त्री बनाउँछु भनेर कसैलाई भन्दिनँ। तर, म सुन्छु यहाँ आउने कुनै पार्टीका अध्यक्षले उसलाई पनि मन्त्री बनाउँछु भन्नुभएको छ। अर्को निर्वाचन क्षेत्रमा गयो, त्यहाँ पनि मन्त्री बनाउँछु भन्नुभएको छ। देशभरका १६५ क्षेत्रबाट निर्वाचितलाई नै गठबन्धनले मन्त्री बनाउने हो,’ उनले भने ।

उनले मन्त्री बनाउने पनि एउटा प्रक्रिया र निर्णय गर्ने शैली हुने भन्दै एमालेले बहुमत ल्याएर सरकार बनाउने भएकाले मन्त्री बनाउने झुटो आश्वासन नबाँड्न आग्रह गरे। उनले अलग–अलग घोषणापत्र लिएर निर्वाचनमा रहेका गठबन्धन कसरी पाँच वर्ष चल्छन् भन्दै प्रश्न गरेका छन्।

ओलीले प्रचण्डमाथि जनयुद्धका नाममा कपालमा जेल लगाउँदै कुखुराको साँप्रासँगै झोल खाएर नेता भएको टिप्पणी पनि गरेका छन् । कालिकोटमा पुगेर चुनावी सभालाई सम्बोधन गर्नेक्रममा ओलीले दाहालले जहिले पनि मान्छे उचालेर सहिद बनाउने अनि नहेर्ने प्रवृत्ति माओवादीमा देखिएको आरोप लगाए।

कांग्रेससँग लागेर जनता रुवाएर आफ्ना मान्छेलाई पोस्ने काम प्रचण्डले गरेको ओलीको भनाइ छ। प्रचण्ड कालीकोट पुगेका बेला केपी ओलीले प्रतिगमन गरेको भन्दै झुट बोलेकोसमेत ओलीले बताए।

प्रचण्डसँगै ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि आलोचना गरेका छन्। उनले भने, ‘शेरबहादुर देउवाको त के कुरा। माघ १९ सबैलाई सम्झना होला। अहिले पनि उहाँले लोकतन्त्र कता लगेर बुझाउनुहुन्छ।’