निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमानाका सिल, मदिरा निषेध - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमानाका सिल, मदिरा निषेध


काठमाडौं । मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रीत गर्दै भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमानाका बन्द गरिने निर्णय भएको हो ।

नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय समितिको बैठकले नेपाल–भारत सीमानाका बन्द गरिने निर्णय गरेको छ । मधेश प्रदेशका आठ वटै जिल्ला भारतीय सीमासँग जोडिएको छ । भारत बिहार राज्यको मधुवनी जिल्लास्थित जयनगरमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

दुवै देशका सुरक्षा अधिकारीको सहभागिता रहेको सो बैठकमा खुला सीमा नाकाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले मङ्सिर ४ गते हुने मतदानको ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताए ।

बैठकमा दुवै देशको सीमा भएर हुने अपराध, अवैध हातहतियार, चोरी पैठारी, लागूऔषध ओसारपसार लगायत अवैध कारोबार नियन्त्रण गर्ने विषयमा छलफल भएको उनले बताए । बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले र भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डीएम अरविन्दकुमार बर्माले गरेका थिए ।

त्यस्तै, मधेश प्रदेशका जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएका छन् । प्रदेशका सप्तरी, सिरहा, धनुषालगायतका जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सम्बद्ध जिल्लाभर मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको छ ।

मङ्सिर ४ गते हुन गइरहेका प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न ऐनमा भएको व्यवस्थाअनुसार सो प्रतिबन्ध लगाइएको सुरक्षा निकायको भनाइ छ ।