मोरङ–६: विरासत फर्काउन र साख जोगाउन कसरत - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

मोरङ–६: विरासत फर्काउन र साख जोगाउन कसरत


काठमाडौं । निर्वाचन नजिकीदैजाँदा हेभीवेट प्रतिष्पर्धाका रुपमा हेरिएको विराटनगर –६ मा चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइराला र एमालेका नेता लालबाबु पण्डीतबीच प्रतिस्पर्धा हुनेभएपछि यस क्षेत्रमा चुनावी सरगर्मी अझ बढेको हो । प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ मा डा.कोइराला र पण्डित मुख्य प्रतिस्पर्धी हुन । कोइराला बदला लिने अभियानमा छन् भने पण्डित विजयीलाई निरन्तरता दिने कसरतमा लागेका छन् ।

२०७४ को चुनावमा ६७५ मतान्तरले मात्रै अघि पछि भएका यीनै प्रष्पिर्धी फेरी पनि मैदानमा उत्रीएपछि यो क्षेत्रलाई चासोकासाथ हेरिएको मोरङका स्थानीयहरु बताउँछन । गत निर्वाचनमा कोइरालालई पछि पारेका तत्कालिन वाम गठबन्धनका साझा उम्मेदवार पण्डितले ३३ हजार ९४१ मत पाउनुभएको थियो भने डा.कोइरालाको पक्षमा ३३ हजार २६६ मत आएको थियो । उक्त निर्वाचनमा सो निर्वाचन क्षेत्रअन्तर्गतका प्रदेश सभाका दुवै क्षेत्रमा भने कांग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए । यस पटक डा.कोइरालालाई पाँच दलीय गठबन्धनको समर्थन रहेकाले पण्डित शंशकित देखिन्छन् । मुलुकको तीन जना प्रधानमन्त्री पाइसकेको कोइराला परिवारका डा.शेखर भावी प्रधानमन्त्रीको दौडमा नभइ सदन प्रवेशको कसरतमा रहेको बताउँछन् ।

‘म संविधान र लोकतन्त्र जोगाउनुपर्छ भन्नेमा छु’, कोइरालाले भने, ‘मोरङबासी मात्र नभइ मुलुककै समृद्धिको पक्षमा छु । राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि मेरो संकल्प छ ।’ यस पटक मोरङमा कांग्रेसभित्र समस्या नभएको र गठबन्धनको सहयोग रहेकाले चुनाव जित्न सहज हुने उहाँको बुझाइ छ । ‘अहिले हामी एक छौं’, उनले भने, ‘गठबन्धन एकढिका छ । मोरङबासीले मलाई परीक्षण गर्न खोजिरहेको जस्तो लाग्छ । अवसर प्रदान गरेर आफ्ना आधारभूत आवश्यक्ता पुर्ति गर्न मंसिर ४ कुरिरहेका छन् । मलाई रोज्न आतुर छन् ।’

विराटनगर प्रजातन्त्रको जग भएकाले यस पटक शेखर कोइरालाको जित पक्का हुने नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णले बताए । उनले भने, ‘यो प्रजातन्त्रको जग हो, पबित्र मन्दिर हो । कृष्णप्रसाद, वीपी, जीपी र अब डा. शेखर, डा.शंशाक र सुजाता दिदीले यसको विरासत धान्नुहुन्छ । इतिहास जोगाउनु हुन्छ । यसपाली जनमत उहाँहरुको पक्षमा आउनेमा हामी ढुक्क छौं ।’

डा.कोइरालाका प्रतिस्पर्धीका रुपमा रहेका एमाले नेता लालबाबु पण्डित चुपचाप चुनावी माहोल बनाइरहेका छन् । धेरै तडकभडक नदेखाइ उनी आफ्ना कार्ययोजनाहरु घरघरमा बाँडीरहेका भेटिन्छन । पण्डिले भन्नुभयो, ‘म काम गर्ने व्यक्ति हुँ । अहिलेसम्म गरेका काम हेर्नुभो भने तपाइँ चकित पर्नुहुन्छ । २० महिना मन्त्री हुँदा कति ब्यस्त थिएँ होला तर मैंले मेरो क्षेत्रका मतदातासँग भेट्न छाडिन । म प्रति मतदातको कुनै गुनासो छैन । कामप्रति सन्तुष्ट छन । सुख दुःखमा सँगै छु । असन्तुष्ट हुने अवसर नै दिएको छैन । त्यसैले यस पटक पनि चुनाव जित्छु भन्नेमाछु ।’ आगामी निर्वाचनका लागि लोकतान्त्रीक वाम गठबन्धनका साझ उम्मेदवार डा कोइरालासँगको लडाइमा सफल हुने कुरामा उनी ढुक्क भने देखिएका छैनन् । यस क्षेत्रमा पण्डितप्रति एमालेको शीर्ष नेतृत्व नै सन्तुष्ट नभएको स्थानीय नेता कार्यकर्ताहरु नै बताउँछन ।

आन्तरिक असन्तुष्टिको डर

प्राय सबै दलभित्र उम्मेदवारको टिकट वितरणमा भएको विभेद र भागबन्डाको असर तल्लो तहका कार्यकर्तासम्म पुगेको छ । एमालेलगायतका शीर्ष दलभित्र यसैको असन्तुष्टी देखिएको छ । पण्डितले टिकट पाएपछि कार्यकर्ता विभाजित अवस्थामा छन् । तर पण्डित यसलाई स्वीकार गर्नुहुन्न । ‘पार्टीभित्र कुनै विवाद छैन । असन्तुष्टी छैन । सबै एक भएर भोट मागिरहेका छौं । बाहिरको हल्लामा सत्यता छैन,’ उनले प्रस्टाए ।

यता नेपाली कांग्रेसमा टिकट वितरणका बेला केही रस्साकस्सी र विवाद देखिएको थियो । अन्य भन्दा बलिया र सक्रिय देखिएका डा.कोइराला निर्बिकल्प क्षेत्र नम्बर ६ को उम्मेदवार भएकाले आकांक्षीहरुले धेरै कसरत नै गरेनन् । सत्ता गठबन्धनका तर्फबाट मोरङमा निर्वाचन परिचालन समिति संयोजकको जिम्मेवारी पाएका नागेश कोइराला भन्नुहुन्छ,‘शुरुवातीमा केही असन्तोष पैदा भएको हो । अहिले सबै व्यवस्थित भइसक्यो । सबै एक भएर घर दैलो गरिरहेका छौं । गठबन्धन भित्रका दलका नेता कार्यकर्ता पनि कोही विभक्त हुनुहुन्न । शसक्त भएर अघि बढेका छौं ।’ पण्डित र कोइरालाको प्रष्टीकरण आइरहँदा कार्यकर्तामा अझै बेमेल र विभाजन भने बाँकीनै रहेको देखिन्छ । गुटगत रोग देखिन्छ । अन्तरघातको खतरा रहेको अनुमान लगाउन भने कठिन हुदैन ।

मुलुकको समृद्धि र विकासको मुद्दा

६ वटा प्रतिनिधि सभा र १२ वटा प्रदेश सभा क्षेत्र रहेको मोरङमा विकासका ठूला योजनाहरु अधुरै छन् । भूमिहीन र सुकुम्बासीका समस्या विकराल देखिन्छन् । मोरङबासीका आधारभूत आवश्यक्ता र विकासका योजनासहित उम्मेदवारहरु चुनावी मैदानमा छन् । डा.कोइरालाले संकल्प पत्र सार्वजनिक गरिसकेका छन् । एमालेका पण्डित पनि वितेका बर्षहरुमा सबैभन्दा धेरै आफूले काम गरेको दाबी गरिरहेका छन् ।

पण्डितले भने, ‘विगतमा गरिएका ठूला काम जारी छन् । धेरैवटा सम्पन्न भएका छन् । कतिपय कोरोनाका कारण बजेट फ्रिज भएर गए । कतिपय पालिका र वडाहरूमा एमालेको नेतृत्व नहुँदा अवरोध पैदा हुँदा ४० करोड रुपैयाँ बजेट फ्रिज हुन गयो,’ उनले अगाडि ,‘विराटनगरका कतिपय योजनामा मैले हालिदिएको बजेट पनि फ्रिज भयो । जनताको नयाँ आकांक्षालाई अब फेरि पनि पूरा गर्नुछ । असीमित जनताको माग र राजनीतिक अस्थिरताबीच पनि काम गर्नुपरेको छ ।’

डाक्टर कोइरालाले मोरङको मात्र नभइ सिंगो मुलुकको समृद्धि र विकाससहितको खाका अघि बढाएका छन् । संविधानको रक्षा, राजनीतिक स्थिरता,सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि मेरो संकल्प’ सार्वजनिक गरेका कोइरालाले बताए । यस क्षेत्रको आर्थिक असमानता र गरीबी जस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने आवश्यकता कोइरालाले औंल्याएका छन् । युवा बेरोजगारीको समस्या समाधान साथै ज्येष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य उपचार सँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम ल्याउने डा.कोइरालाको संकल्प छ ।

आफ्नो क्षेत्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको उल्लेख गर्दै उनले अब विविधता बीच सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता र सदभावलाई संरक्षण गर्दै क्षेत्रको आर्थिक विकासलाई अगाडि बढाउने बताए । डा.कोइरालाले गछिया, केशलिया (बुढी), सिगिंया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिने, विराटनगर विमानस्थलको स्तरोन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार र मेडिकल कलेज यथाशीघ्र संचालनमा ल्याइने साथै बिराटनगर चक्रपथको काम सम्पन्न गरि यथासक्य छिटो संचालनमा ल्याउने संकल्प गरेका छन् ।

यस्तो छ मतको अंकगणित

मोरङका ६ वटै निर्वाचन क्षेत्र विगतदेखि नै नेपाली कांग्रेसको एकछत्र थियो । तर राजनीतिक परिवर्तन र दलहरुमा देखिएको अन्तरकलहले कतिपय स्थानमा ठूला दलहरु कमजोर बन्दै गए र नयाँ दलहरुले हिस्सा ओगट्दै गए । तर २०७९ मा आइपुग्दा कांग्रेले पुरानो विरासत जोगाउन सक्ने संकेत गरेको छ । २०७० सालको संविधानसभा चुनावमा मोरङ नौवटा निर्वाचन क्षेत्रमध्ये पाँच वटामा विजयी भएको कांग्रेसले संविधान जारी भएपछि भएको पहिलो संसदीय चुनावमा भने एउटा सीट मात्रै विजयी भएको थियो । यसपाली कांग्रेसले लिएका चार निर्वाचन क्षेत्रमा शसक्त प्रदर्शन गरिरहेको छ । मतदाताहरुमाझ बलियो उपस्थिति जनाइरहेको छ । एमालेले पनि बेग्लै माहोल ल्याएको छ । उसले आफूलाई बलियो दाबी गरिरहेको छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा क्षेत्र नं. ६ अन्तर्गत रहेका सुन्दरहरैचा, बुढीगंगा र विराटनगरका २० वटा वडामा नेपाली कांग्रेसले १२ वटामा जित हासिल गरेको छ । एमाले पाँच वटामा खुम्चिएको छ भने माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्रले एक–एक वडामा विजयी हासिल गरेका छन् । यहाँ एमालेलाई जसपाको समर्थन छ भने कोइरालालाई माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको समर्थन छ ।

वडागत रुपमा कांग्रेसले २८ हजार ४३८, एमालेले २५ हजार २३६, माओवादी केन्द्रको ५ हजार ३५६, एकीकृत समाजवादीले २ हजार ३६९, जसपाले ३ हजार ९४९ मत ल्याएका थिए । एमाले–जसपाको मत २९ हजार १८५ हुँदा कांग्रेस–माओवादी र एकीकृत समाजवादीको मत ३६ हजार १६३ हुन्छ । सत्तारुढ गठबन्धन ६ हजार ९७८ मतले अघि देखिएको छ । गठबन्धनभित्र इमान्दारिता र कांग्रेसभित्र अनुशासन कायम रहे कांग्रेसका डा.शेखर कोइरालाले बाजी मार्न सक्ने अनुमान गरिएको छ । एमाले मोरङ ६ को प्रदेश सभामा पर्शुराम बस्नेत(कृष्ण) र रिता न्यौपाने उम्मेदवार छन् । सत्ता गठबन्धनले भने ‘क’ मा जीवन आचार्र्य र ‘ख’ मा प्रदेश मन्त्री कांग्रेसका केदार कार्कीलाई उम्मेदवार बनाएको छ ।

 

"

"