सिरहा-२ मा चित्रलेखा र राजकिशोरबीच रस्साकस्सी - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

सिरहा-२ मा चित्रलेखा र राजकिशोरबीच रस्साकस्सी


काठमाडौं । सिरहा–२ मा दुई गठबन्धनबाट पूर्वमन्त्रीबीच रोचक चुनावी प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनबाट कांग्रेस नेतृ चित्रलेखा यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । राजकिशोर आफ्नो चुनावी क्षेत्र सिरहा–४ भए पनि यस पटक भागबन्डाका कारण २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।

चित्रलेखा २०५६ को निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित भएकी थिइन् । त्यसपछि उनले दुई पटक समानुपातिकतर्फबाट प्रतिनिधित्व गरिन् । २०७४ को चुनावमा माओवादी केन्द्रबाट सुरेशचन्द्र दास यादव यो क्षेत्रबाट विजयी भएका थिए। राजकिशोर २०६४ को संविधानसभा चुनावमा विजयी भएका थिए भने २०७० को दोस्रो संविधानसभा चुनावमा पराजित भएका थिए । २०७४ को निर्वाचनमा उनी सिरहा–४ बाट निर्वाचित भएका थिए ।

चित्रलेखाको दाबी

चित्रलेखा विगतदेखि हालसम्म मधेसको विकास र पहिचानका लागि कांग्रेसले नै अगुवाइ गरेका कारण आफ्नो जित निश्चित भएको दाबी गर्छिन् । संविधान निर्माण हुनेबित्तिकै समानुपातिक र समावेशी शब्द राख्न कांग्रेसले नै पहिलो पटक संविधान संशोधन गरेको भन्दै उनले पछि पनि संविधान संशोधनका लागि कांग्रेस र माओवादी केन्द्रले ठूलो पहल गरेको तर एमालेका कारण त्यो सम्भव नभएको बताइन ।

उनले भनिन्, ‘अहिले पनि कांग्रेस र माओवादी केन्द्रकै प्रयासमा नागरिकता विधेयक दुवै सदनबाट पारित भएको हो । तर एमालेले त्यसलाई राष्ट्रपतिबाट प्रमाणीकरण हुन दिएन। कांग्रेसले जहिले पनि मधेसको हित सोचेका कारण मधेसी जनताले कांग्रेसलाई जिताउँछन् ।’

चित्रलेखाले जसपा कुनै पार्टी नै नभएको बताउँदै कहिले कसको पुच्छर त कहिले कसको पुच्छर भएर हिँड्ने गरेको आरोप लगाइन्। उनले भनिन्, ‘जसपा पार्टी बनिसकेको छैन। जसपा कहिले कसको पुच्छर त कहिले कसको पुच्छर भएर हिँड्ने गरेकाले सो पार्टीलाई मधेसका जनताले राम्रोसँग चिनिसकेका छन् ।’

राजकिशोरको आफ्नै दाबी

एमाले–जसपाबीच गठबन्धन भएकाले चुनाव जित्नेमा ढुक्क रहेको राजकिशोरको दाबी छ। मधेसलाई बर्बाद गर्ने पार्टी कांग्रेस भएका कारण सिरहाका जनताले आफूलाई जिताउने उनले बताए । उनले भने, ‘जसपा परिवर्तनकारी शक्ति हो। मधेसी जनताले पनि परिवर्तन चाहेका छन्। त्यही भएर जसपाको जित सुनिश्चित छ ।’

स्थानीय तहको मत परिणाम

स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा सिरहा–२ मा सत्तारुढ गठबन्धनको तुलनामा एमाले–जसपा गठबन्धन बलियो देखिन्छ। सो क्षेत्रमा जसपाले वडामा २१ हजार ९७ मत ल्याएको छ भने एमालेले १८ हजार ३५८ मत ल्याएको छ। दुवै दलको मत जोड्दा ३९ हजार ४५५ हुन्छ। त्यस्तै, सो क्षेत्रमा कांग्रेसले १९ हजार ४७४, माओवादी केन्द्रले ११ हजार ६५८, नेकपा एकीकृत समाजवादी पार्टीले ३ हजार ९२३ र लोकतान्त्रिक समाजवादी पार्टीले ९७९ मत ल्याएका छन्।

यी सबै दलको मत जोड्दा ३६ हजार ३४ हुन्छ। सत्ता गठबन्धनभन्दा जसपा–एमाले गठबन्धनको मत ३ हजार ४२१ ले बढी छ । सिरहालाई जसपाको आधार क्षेत्र मानिन्छ। सिरहाबाट मधेस आन्दोलनको उठान भएको थियो। तर यहाँ कांग्रेस पनि कमजोर छैन। सिरहामा सबभन्दा बढी पालिका कांग्रेसले जितेको छ भने दोस्रो स्थानमा एमाले अनि तेस्रो र चौथो स्थानमा क्रमशः माओवादी र जसपा छन्। तर सिरहा–२ मा जसपाले वडामा सबभन्दा बढी मत ल्याएको छ ।

चित्रलेखा र राजकिशोर दुवैले पाउँदैनन् मतदान गर्न

सिरहा–२ मा प्रतिनिधसभामा गठबन्धन तथा प्रभावकारी स्वतन्त्र उम्मेदवारहरू अन्य क्षेत्रमा घर भएका छन् । कांग्रेसकी चित्रलेखा यादवको घर सिरहा नगरपालिकामा छ । उनी सिरहा क्षेत्र–३ को मतदाता हुन्। चित्रलेखाले माइती नवराजपुर–४ नहरनियाँबाट मतदान गर्नेछिन ।

एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादव पनि यस क्षेत्रका मतदाता होइनन्। उनी नरहागाउँपालिका–३, चोहर्वाका हुन । उनी प्रायः चुनावपिच्छे क्षेत्र फेर्ने नेतामा पर्छन् । पहिलो संविधानसभा २०६४ मा सिरहा–६ बाट विजयी भएका उनी दोस्रो संविधानसभा २०७० मा त्यहीँ पराजित भए । २०७४ मा सिरहा–४ बाट विजयी भएका उनी अहिले क्षेत्र–२ बाट चुनावी प्रतिस्पर्धामा छन् । राजकिशोर सिरहा क्षेत्र–४ का मतादाता हुन् ।