अर्बपती उम्मेदवार चौधरीलाई भोट माग्न चौपत्तामा देउवा र प्रचण्ड - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

अर्बपती उम्मेदवार चौधरीलाई भोट माग्न चौपत्तामा देउवा र प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पश्चिम नवलपरासीको सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ मा अर्बपति विनोद चौधरीलाई भोट माग्न बर्दघाट नगरपालिकाको चौपत्तामा पुगेका छन् । मंगलबार चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले चौधरीलाई मत दिन आग्रह गरे ।

सो क्रममा देउवाले गठबन्धन टुटाउनका लागि झगडा लगाउने तत्व लागि परेको बताए । आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको बताउँदै त्यसमा कसैले पनि चिन्ता नगर्न आग्रह गरे । अहिलेको समावेशीसहितको संविधानका कारण नै महिलाको ३३ प्रतिशत आरक्षण लागू भएको पनि उनले बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनभित्र केही समस्या देखिएको भए पनि अहिले पाँचदलीय संयुक्त गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिए । उनले कांग्रेस माओवादीसहितको पाँचदलीय गठबन्धलाई पाँच पाण्डव र नेकपा (एमाले) नेतृत्वको गठबन्धनलाई कौरवको गठबन्धनको संज्ञा दिए । उनले दुबै गठबन्धनको लडाइँको अन्तिम दिन मङ्सिर ४ गते रहेको बताए । उनले सुशासन र विकासबाट मात्र परिवर्तन सम्भव भएकाले संविधानको रक्षा र राजनीति स्थिरिता कायम गर्न पाँच दलिय गठबन्धनले मात्र सक्ने जिकिर गरे ।

पश्चिम नवलपरासीको सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ मा अर्बपति विनोद चौधरीको विरुद्धमा जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठी मैदानमा छन्। गठबन्धनका उम्मेदवार चौधरीले यस क्षेत्रमा आफूले जितेको खण्डमा विभिन्न प्रकारका उद्योग खेल्ने र स्थानीयवासीलाई स्थानीयस्तरमा नै रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।