निर्वाचनको मौकामा अचाक्ली मूल्य वृद्धि - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

निर्वाचनको मौकामा अचाक्ली मूल्य वृद्धि


काठमाडौं । मंसिर ४ को निर्वाचनले शासन सत्ता संचालकहरुलाई व्यस्त गराएको छ । भोट माग्दै घरदैलो गर्न र चुनावी सभामा भाषण गर्न सरकार नेतृत्वकर्ताहरुलाई भ्याइनभ्याइ छ । तर यता निर्वाचनको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । कालोबजारी मौलाएको छ ।

आसन्न निर्वाचन नजिकिएसँगै बजारमा हरेक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत भन्दा बढीले बढेको हो । सरकारको ध्यान निर्वाचनमा केन्द्रित हुँदा उपभोक्ता भने बजारमा अत्याधिक रुपमा बढेको मूल्य वृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारीहरु समेत निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुशी मूल्य तोक्न लागेको उपभोक्ताले गुनासो गरेका छन् ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले दसैं तिहारपछि मात्रै दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताए ।

कुलेश्वरका खाद्य सामग्री होलसल व्यापारी मनोज श्रेष्ठले खानेतेल, दाल चामलको मूल्य बढेर नै आएको बताए । उनले डलरको मूल्य बढेकाले बजारमा खानेतेलको मूल्य वृद्धि भएर आएको बताए ।

उपभोक्ताले भने सरकार निर्वाचनमा मात्रै नभएर उपभोक्ताले प्रयोग गर्ने उपभोग्य वस्तुको मूल्यको विषयमा पनि बजार अनुगमनमा ध्यान दिनुपर्ने बताएका छन् । बजारमा उपभोक्ताले दैनिक रुपमा प्रयोग गर्ने उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा दिनभर काम गरेर बिहान बेलुका दुई छाक टार्नेहरु मारमा परेका छन् । यता, राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो महिनामा औषत महँगी दर ८.४५ प्रतिशत छ।

प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका कारण खर्च बढेको छ भने खाद्य तथा पेय पदार्थको माग बढेर गएको छ। सरकारले समेत खर्च गरिरहेको छ। यसले गर्दा लामो समयदेखि ‘डाउन ट्रेण्ड’ मा रहेको बजार बिस्तारै उक्लिन थालेको छ।

त्यस्तै, दशैँ—तिहारको समयमा २४० रुपैयाँमा पर्ने थालेको खानेतेल अहिले बजारमा २८० रुपैयाँ पुगेको पुगेको साथै सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर ४० रुपैयाँले मूल्य बढेको व्यवसायीहरुले बताएका छन् । भारत सरकारले नेपालमा चामल आयातमा प्रतिबन्ध लगाएपछि मात्रै एक बोरा चामलमा ४०० रुपैयाँसम्म बढेको छ ।

भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५–२० दिन पहिले नै हटाएको र चामलको मूल्य घटेर आए पनि नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगोमा चामल बिक्री गरिरहेका उनको दाबी छ ।