निर्वाचन बिथोल्नेहरुप्रति सचेत प्रहरी, धमाधम नियन्त्रणमा - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

निर्वाचन बिथोल्नेहरुप्रति सचेत प्रहरी, धमाधम नियन्त्रणमा


काठमाडौं । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विथोल्ने क्रियाकलाप बढेपछि नेपाल प्रहरीले सुरक्षा निगरानी बढाएको छ । बिथोल्ने क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहमाथि गोप्य निगरानी बढाइएको हो ।

प्रहरीले मंगलबारसम्म निर्वाचन बिथोल्ने क्रियाकलापमा संलग्न १ सय १५ जनालाई पक्राउ गरिसकेको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले निर्वाचन बिथोल्ने क्रियाकलापमा संलग्न १ सय १५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

निर्वाचनमा नेपाल प्रहरीका तर्फबाट ७१ हजार ६ सय ९३ सुरक्षाकर्मी परिचालन छन् । निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन प्रहरीले पाएको जिम्मेवारीअनुसार काम गरिरहेको प्रवक्ता राई बताउँछन् । जिल्ला प्रहरी प्रमुखमातहत रहनेगरी प्रहरी प्रधान कार्यालयले सिपाहीदेखि प्रहरी नायब उपरीक्षक (डीएसपी)सम्मलाई निर्वाचन सुरक्षाका लागि केन्द्रबाट परिचालन गरेको हो ।

विभिन्न जिल्लाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूमध्ये १ सय ४ जनालाई हाजिरी जमानतमा रिहा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।आगामी निर्वाचन विभिन्न ३१ समूहले बहिष्कार घोषणा गरिसकेका छन् । ती समूहले शान्तिपूर्ण गतिविधि गर्ने घोषणा गरे पनि ‘शान्ति सुरक्षामा असर पर्नेगरी गतिविधि सञ्चालन गरेको’ पाइएपछि नियन्त्रणमा लिनुपरेको प्रहरी दाबी छ ।

प्रहरी प्रधानकार्यालयले निर्वाचन’ भ्रम फैलाउने र शान्ति सुरक्षामा असर पर्नेगरी कुनै गतिविधि गरे तत्काल नियन्त्रण गर्नेगरी पूर्वतयारीमा रहन मातहतका निकायलाई परिपत्रसमेत गरेको छ । देशभरका २२ हजार ५ सय ३४ मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा म्यादी प्रहरीबाट गरी झन्डै ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी मतदानस्थल सुरक्षा व्यवस्थापनमा खटिनेछ । प्रहरीसँगै म्यादी प्रहरी सो जिम्मेवारीमा रहनेछ । सेनाले निर्वाचनमा बाहिरी सुरक्षा जिम्मा पाएको छ भने सशस्त्र प्रहरीले बाहिरी सुरक्षाअन्तर्गत दोस्रो घेरामा रहनेगरी जिम्मेवारी पाएको छ । सशस्त्रलाई जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत कार्यालयलगायतको सुरक्षाको जिम्मा पनि छ ।

निर्वाचनका लागि ७५ हजार सेना परिचालन गरिएको छ । सशस्त्र प्रहरीबाट ३२ हजार सुरक्षाकर्मी खटाइएको छ । १ लाख १५ हजार म्यादीसमेत फिल्डमा छन् । अनुसन्धान विभागबाट १५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । विभागबाट खटिएका सुरक्षाकर्मीले निर्वाचन सूक्ष्म निगरानी, अवस्था विश्लेषण र गोप्य सूचना संकलनमा केन्द्रित रहनेछन् ।