चौथो जितको अन्तिम प्रयासमा डा.शशांक - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

चौथो जितको अन्तिम प्रयासमा डा.शशांक


काठमाडौं । नवलपुर १ मा चौथोपटक प्रतिस्पर्धा गर्न लागेका कांग्रेस नेता डा शशांक कोइरालालाई यसपटक थप अनुकूल अवस्था बनेको विश्लेषण गरिएको छ । अघिल्लोपटक वामगठबन्धन हुँदा समेत माओवादी केन्द्रका उम्मेदवारलाई उनले हराएका थिए । कोइरालाको व्यक्तित्व, कम्युनिस्ट दलमा विभाजन, गठबन्धन, स्थानीय तहको मत लगायतले उनलाई सहज अवस्था आएको कांग्रेसको बुझाई छ ।

२०६४ सालदेखि यस क्षेत्रमा कांग्रेस नेता कोइरालाले जित्दै आएका छन् । त्यसो त, यो क्षेत्र कांग्रेसको पकड स्थान पनि हो । २०४८ सालदेखि कम्युनिस्ट दलले कांग्रेसलाई हराउन सकेको छैन । राज्य संरचना हुँदा नवलपरासी जिल्लालाई विभाजित गरेर बर्दघाट सुस्तापूर्वलाई नवलपुर नामकरण गरी छुट्टै जिल्ला बनाइएको छ ।

संघीयता पश्चात् राज्य संरचना परिवर्तन गरी क्षेत्रका केही स्थान हेरफेर गरेपनि कांग्रेसको जित यो स्थानमा निरन्तर छ । संविधान सभाका लागि भएको २०६४ र २०७० मा ठूलो मतान्तरले कोइराला विजयी भएका थिए । बाम गठबन्धन हुँदा समेत कोइरालालाई तत्कालीन माओवादी केन्द्रका उम्मेदवारले पराजित गर्न सकेनन् ।

यसपटक कोइरालासँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । ‘हेभिवेट’ कोइरालासँग राष्ट्रिय राजनीतिमा नामै नसुनिएका पौडेल प्रतिस्पर्धी हुँदा कांग्रेसलाई जित निकाल्न सहज हुने भएको छ । कांग्रेस उम्मेदवार कोइराला शालिन, भद्र तथा कसैलाई नचिढ्याउने नेतामा पर्दछन् । उनको शालिनताले समेत मत बढ्ने कांग्रेस भित्र बुझाई छ । कोइराला कम बोल्ने नेतामा समेत पर्दछन् ।

पार्टी भित्रको केन्द्रीय राजनीतिमा समेत प्रभाव पार्न सक्ने नेता भएकाले उनको लागि थप प्लस पोइन्ट भएको छ । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको पुत्र हुनुको लिगेसी त उनलाई छँदैछ । नवलपुर १ मा कांग्रेस जित नजिक रहेको नवलपरासीका कांग्रेसका पूर्व सभापति विष्णु लामिछाने बताउँछन् । लामिछानेले भने,‘देशभर बामगठबन्धनको लहर आउँदा त कम्युनिस्टले हराउन सकेनन् । यसपटक अहिलेसम्मकै ठूलो अन्तरले जित्छौं ।’

पूर्व चिकित्सक समेत रहेका डा कोइराला २०६४ सालबाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका थिए । आफ्नो जितको यात्रा सुरु गर्दा माओवादीका ठाकुरप्रसाद चापागाईंलाई हराएका थिए । तत्कालीन समयमा देशभर माओवादीको पक्षमा मत उर्लिदा समेत कोइरालाले माओवादीका उम्मेदवार चापागाईंलाई हराएका थिए । कोइराला १७ हजार ४३० मत ल्याएर विजयी भएका थिए ।

२०६४ सालमा तेस्रो स्थानको मत ल्याएको एमाले २०७० मा भने दोस्रो स्थानमा उक्लन सक्यो । २०७० सालमा कोइरालाले एमालेका उम्मेदवार दीपक अधिकारी क्षेत्रीलाई ठूलो मतान्तरले हराए । कोइरालाले १८ हजार २२८ मत ल्याएर निर्वाचित हुँदा एमालेका अधिकारीले क्षेत्रीले १२ हजार ११० मत पाए । यसपटक माओवादी झनै खुम्चियो । माओवादीका धनप्रसाद सापकोटाले चार हजार ३१७ मत प्राप्त गरि चित्त बुझाए ।

२०७४ सालमा बाम गठबन्धन हुँदा समेत जीतको मतान्तरलाई कोइरालाले फराकिलो कायम राखे । ३६ हजार ६५२ मतसहित विजयी उनी विजयी हुँदा माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत पाए ।

स्थानीय तहको मतमा कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले ४० हजार ५११ मत पाउँदा एमालेको पक्षमा ३९ हजार ९५१ मत आएको थियो । गठबन्धनको अर्को दल माओवादीको पक्षमा न्यून मत आएपनि त्यो मत समेत कोइरालाको पक्षमा खस्ने भएको छ । स्थानीय तहमा माओवादीले एक हजार ९२१ मत पाएको थियो ।

यस क्षेत्रमा देबचुली, गैडाकोट, बुलिङटारका सबै वडा पर्दछन् । साथै, कावासोती नगरपालिकाको १, २ र ५ देखि १३ सम्मका वडा पनि यसै क्षेत्रमा पर्दछन् । यस क्षेत्रमा पर्ने पालिका मध्ये कांग्रेसले गैडाकोटमा मात्रै जित निकालेको थियो । क्षेत्रभरका पालिकामा कांग्रेसले प्रमुखमा जित कम निकालेपनि वडा तहको मत भने एमालेको भन्दा बढी छ ।

 

"