मतदातासमक्ष ओलीको विन्ती - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

मतदातासमक्ष ओलीको विन्ती


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताहरुले सोचेर मतदान गर्नुपर्ने बताएका छन् । बुधबार साँझ आम मतदाताहरुको नाममा अपिल जारी गर्दै यस्तो आग्रह गरेका छन् । उनले भिडियो सन्देशमार्फत मतदातालाई अपिल गरेका हुन् ।

उनले अबको पाँच वर्ष कसको हातमा देश सुम्पन चाहनुहुन्छ ? भनेर प्रश्न सोधेका छन् । उनले भनेका छन्, ‘प्रिय मतदाता, अब स्पष्ट निर्णय लिने समय आएको छ । किनकि मंसिर ४ गते तपाईँले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निर्क्योल गर्छ । शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा ?’, ओलीले प्रश्न गर्दै भनेका छन्, ‘त्यसैले भोट हाल्नुअघि दुई भविष्यलाई सम्झनुहोला । पहिलो तपाईँको आफ्नै भविष्य र दोस्रो तपाईँका छोराछोरीको भविष्य ।’

१ मिनेट ३६ सेकेन्डको भिडियो सन्देशमा ओलीले भनेका छन्,‘ ‘म झुटो बोल्दिन, सत्य छोड्दिन । तपाईँलाई थाहा छ म पटक पटक मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति हुँ । अहिले देश केही व्यक्ति र समूहको निजी स्वार्थले जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भनेका छन्, ‘जसको कुनै राष्ट्रिय उद्देश्य छैन । यही गठबन्धन रहिरहे मुलुक वरवाद हुनेछ । तपाई र तपाईँका छोराछोरीको भविष्य समेत वरवाद हुनेछ । त्यसैले आज म यस सन्देशमार्फत भोट माग्दैछु ।’