मतदान लोकतन्त्रको उत्सव हो - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

मतदान लोकतन्त्रको उत्सव हो


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाउन आग्रह गरेका छन् । उनले विहीबार सामाजिक सञ्जाल फेसबुकमा मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर भिडियो सन्देश जारी गरेका हुन् । उनले भने, ,‘निर्वाचनमा तपाईहरूको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त गर्ने छ ।’

दुई(दुई पटक संसद विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएका कारण सहमति र सहकार्यको जगमा गठबन्धन सरकार गठन भएको उनको तर्क छ । सहमति र सहकार्यकै आधारमा देशलाई अघि बढाउन प्रतिवद्ध रहेको समेत उनले दावी गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो । जाहाँनिया राणा शासनविरुद्धको आन्दोलनदेखि अहिलेसम्म मुलुकले राजनीतिक सङ्घर्षको चरण पूरा गरिसकेको छ । अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने छ ।”

कांग्रेस मुलुकमा भएका हरेक राजनीतिक सामाजिक आन्दोलनको नेतृत्व गरेको पार्टी भएको उल्लेख गर्दै उनले अब मुलुकलाई समृद्धितर्फ अघि बढाउनु कांग्रेसको जिम्मेवारी भएको बताएका छन् । विसं २०४६ पछि मुलुकले आर्थिक र सामाजिक विकासमा एक बाटो लिएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताएका छन् ।