बाँके २ मा त्रीपक्षीय भिडन्त, गठबन्धनको संकल्पले राणालाई सहज - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

बाँके २ मा त्रीपक्षीय भिडन्त, गठबन्धनको संकल्पले राणालाई सहज


काठमाडौं । बाँके २ यसकारण पनि महत्वपूर्ण क्षेत्र हो जहाँबाट निर्वाचित भएर प्रधानमन्त्री बने कांग्रेस सभापति सुशील कोइराला । यसैले पनि यस क्षेत्रलाई महत्वका साथ हेरिएको छ । यसपटक यस क्षेत्रबाट गठबन्धनले कांग्रेसका सुदीपनरसिंह राणालाई उम्मेदवार बनाएको छ । उनका प्रतिस्पर्धी छन् जसपाबाट पूर्वमन्त्री मोहम्मद इस्तियाक राई । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले डा. धवलशम्सेर राणालाई मैदानमा उतारेको छ ।

राजनीतिमा राणा पुरानै अनुहार हुन् । विगत ३८ वर्षदेखि उनी कांग्रेसमा सक्रिय छन् । गत स्थानीय तहको निर्वाचन परिणामलाई हेर्ने हो भने पनि राणा बलिया देखिन्छन । यद्यपी, नेपालगन्जका पूर्व मेयर धवलशम्शेर र पूर्वमन्त्री इस्तियाकको उम्मेदवारीले यहाँको भिडन्त रोचक हुने देखिन्छ ।

इस्तियाक र धवलसँग टक्कर

यसअघि दुईपटक निर्वाचित भइसकेका जसपाका इस्तियाक राई राणाको प्रतिस्पर्धामा छन् । त्यसैले यसपटक कडा टक्कर पर्ने बताइन्छ । यद्यपी, राईलाई आफ्नै परिवारको साथ छैन । राइविरुद्ध उनका काकाका छोरा समशुल राईले स्वतन्त्र र जसपाकै नेता बाबु खाँ पठानले विद्रोह गरी जनमत पार्टीबाट उम्मेदवारी दिएका छन् । यसैगरी एमालेले यहाँ राप्रपासँग तालमेल गरेको छ । नेपालगञ्जका पूर्व मेयर धवलशम्शेर चर्चित नेता हुन् । यद्यपी, त्रिपक्षीय भिडन्तले कांग्रेसका राणालाई सहज हुने बताइएको छ ।

यस क्षेत्रमा रहेका अधुरा कामहरु पुरा गर्न आफूलाई जिताउनुपर्ने कांग्रेसका राणा बताउँछन् । ’कांग्रेसका लागि संघर्ष गरेका व्यक्ति भएकोले नेपाली कांग्रेस तथा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गर्दछु,’ राणाले भनेका छन् ‘विपीले देखेका सपना अझैं पुरा भएका छैनन्, ती अधुरा सपना पुरा गर्न हामी आएका छौं।’ आफू निर्वाचित भएमा सबैलाई न्याय हुने गरी काम गर्नेसमेत उनले बताए ।

कस्तो छ इतिहास ?

२०७४ को निर्वाचनमा राईले वाम गठबन्धनका उम्मेदवारलाई एक्लै पराजित गरेका थिए । त्यतिबेला कांग्रेस र राप्रपा गठबन्धनबाट ओमप्रकाश आजाद र एमाले र नेकपा माओवादी केन्द्रसहितको बामगठबन्धनबाट पशुपति दयाल मिश्र उम्मेदवार रहेका थिए ।

यसपटक कांग्रेसका उम्मेदवार राणालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । यस्तै एमालेले राप्रपाका महामन्त्री डा. राणालाई साथ दिने भएको छ । यहाँ गठबन्धनबाट प्रदेश क मा राजकुमार वर्मा र प्रदेश सभा–२ ’ख’ मा लुम्बिनी प्रदेशका वन मन्त्रीसमेत रहेका कांग्रेस नेता सुरेन्द्र हमाल उम्मेदवार भएका छन् ।

स्थानीय निर्वाचनको समीकरण

स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा काँग्रेसले सबैभन्दा बढी मत ल्याएर पाएको थियो । नेपालगन्जको वडा नम्बर १६ र १७ बाहेक बाँकी २१ वटा वडा क्षेत्र नम्बर–२ मा पर्छन्, भने डुडुवाका सबै ६ वटा वडा क्षेत्र नम्बर –२ मा पर्छन् ।

वडाअध्यक्षहरुले प्राप्त गरेको मतअनुसार कांग्रेसको १८ हजार ३७ मत रहेको छ । यसैगरी एमालेको १५ हजार ४ सय ७८, जनता समाजवादी पार्टी (जसपा) को १३ हजार ८ सय ९ र राप्रपाको ८ हजार ४ सय ९४ मत रहेको छ । यस्तै नेकपा (माओवादी केन्द्र) को ६ हजार ८ सय ५९, नेकपा (एकिकृत समाजवादी) को ८ सय २१ र लोसपाको ५ सय ६४ मत रहेको छ ।

संकल्प शैक्षिक हब बनाउने

गठबन्धनका उम्मेदवारले संकल्पपत्र सार्वजनिक गरेको छ । संकल्पमा राणासहित प्रदेश क र ख का उम्मेदवारले यस क्षेत्रलाई शैक्षिक हब बनाउने प्रतिबद्धता जनाएका छन् । नेपालगन्ज उपमहानगरपालिका र डुडवा गाउँपालिका क्षेत्रलाई शैक्षिक हब बनाउने संकल्प गठबन्धनले गरेको छ ।

नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसलाई स्तरोन्नती गर्न विशेष जोड दिइएको छ संकल्पपत्रमा। क्याम्पसलाई नेपालगन्ज विश्व विद्यालयका रुपमा स्तरोन्नति गर्दै डिजिटल प्रणालीमा लैजाने उल्लेख गरिएको छ ।

त्यस्तै मंगल प्रसाद कन्या क्याम्पसका छात्राहरुलाई उपयोगी नवीन विषयमा अध्ययनका लागि प्रोत्साहित गर्ने संकल्पपत्रमा उल्लेख छ । प्राविधिक उच्च शिक्षालाई प्राथमिकता दिँदै भेरी प्राविधिक शिक्षालयलाई प्रतिष्ठानको रुपमा विकास गर्ने, डुडुवा गाउँपालिकामा उच्च शिक्षाका लागि क्याम्पस स्थापनादेखि प्राविधिक धारका विषय अध्यापन गर्ने, छात्राहरुका लागि पुस्तक तथा छात्रवृत्तीको व्यवस्था, नैतिक शिक्षाका लागि सँस्कृत, उर्दु र अवधी भाषालाई प्रोत्साहन गर्ने संकल्प गरिएको छ ।

भेरी अस्पताललाई मेडिकल कलेजका रुपमा रुपान्तर गर्ने, स्वास्थ्य बीमालाई सरल र सुलभ बनाउने, प्रत्येक नागरिकलाई स्वास्थ्यको पहुँच, डुडुवा क्षेत्रमा निःशुल्क प्रयोगशाला, एम्बुलेन्स, ज्येष्ठ नागारिक उपचार, पशु पालक किसानलाई निःशुल्क पशु उपचार, बीमा तथा सम्पूर्ण नागरिकलाई सबै किसिमका औषधी निःशुल्क उपलब्ध गराउने कार्यक्रम ल्याउने कांग्रेसले संकल्प गरेको छ ।

कृषि, खानेपानी, पर्यटनलाई पनि विशेष प्राथमिकतामा राखिएको छ । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, टोलबस्तीमा सडक विस्तारका विषय पनि संकल्पमा समेटिएका छन ।

 

"