भेलु बाजेलाई २ हजार रुपैयाँ दिएकोबारे सूर्य थापालाई स्पष्टीकरण - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

भेलु बाजेलाई २ हजार रुपैयाँ दिएकोबारे सूर्य थापालाई स्पष्टीकरण


काठमाडौं । निर्वाचन आयोगले प्यूठान जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण सोधेको छ।

केहीदिनअघि भेलु बाजे भनिने मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिएर आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने व्यहोराको समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण भई स्पष्टीकरण सोधिएको आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

केहीदिनअघि भेलु बाजेले थापालाई मत मागेका थिए। लगत्तै अर्कोदिन उनले थापाले २ हजार दिएकाले मत मागिदिएको अभिव्यक्ति दिएका थिए। भेलु बाजेको उक्त अभिव्यक्तिले आयोगले आफ्नो ध्यानाआर्कषण भएको उल्लेख गरेको छ। थापालाई कुनै व्यक्ति वा संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने बताउँदै उनलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

‘निर्वाचन आचारसंहितामा भएको व्यवस्था प्रतिकूल हुनेगरी तपाईंले मीनबहादुर बुढा (भेलु बाजे) लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईंले निज भेलु बाजे लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने होरु यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय प्युठानमा प्राप्त हुनेगरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ,’ आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख छ।