विजुली बेचेर नेपाललाई १० अर्ब ३८ करोड ९६ लाख रुपैंयाँ - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

विजुली बेचेर नेपाललाई १० अर्ब ३८ करोड ९६ लाख रुपैंयाँ


काठमाडौं । बिजुली निर्यातबाट मुलुकले रु १० अर्ब ३८ करोड ९६ लाख बराबरको आम्दानी गरेको छ । पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो ।

देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले निर्यात गरेको हो । यो गत कात्तिकसम्मको विवरण हो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री शुरु गरेको थियो ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ ९भारु० मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ ।

सुरुमा दुई विद्युत् तहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि गत २७ जेठदेखि दैनिकरुपमा छ वटा जलविद्युत तहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरुपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै थियो ।

गत १८ र ३० कात्तिकबाट क्रमशः चिलिमे र सोलुखोलाको विद्युत् निर्यात शुरु भएसँगै भारततर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता चार सय नौ मेगावाट पुगेको छ ।

खोलानालामा पानीको बहाव घट्दै गएकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

"