देशभर मतदान, साँझ ८ बजेदेखि गणना - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

देशभर मतदान, साँझ ८ बजेदेखि गणना


काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान शुरु भएको छ । आज आइतबार बिहान ७ देखि शुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदान स्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राति ८ बजेदेखि मतगणना शुरु हुने बताएका हुन् । भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन देशैभरका निर्वाचन अधिकृतहरूलाई आग्रहसमेत गरेका छन् ।

उनले मतदान गर्न एक जनालाई करिब २ मिनेट समय लाग्नेसमेत बताएका छन् । थपलियाले मतदान केन्द्रहरू अपांगतामैत्री बनाइएको जानकारीसमेत दिएका छन् । तर धेरै जसो मतदान केन्द्रमा अपांगता मैत्री नभएको भनी गुनासोसमेत आएको छ । थपलियाले यस पटक ७० प्रतिशतभन्दा बढी मत खस्ने सम्भावना रहेको बताए ।